•  ४ आश्विन २०८१, शुक्रबार
  •  8:46:53 AM

सापटी पैसा फिर्ता नदिएपछि ६२ वर्षीया बृद्धाकाे हत्या

- श्रावण ३२, २०८१ मा प्रकाशित



लमजुङ  । लमजुङको बेंसीशहर नगरपालिका–११, चिती बजरखुट्टाका एक व्यक्तिले पैसा सापटी नदिएको झोकमा एक महिलाको हत्या गरेका छन् । बेंसीशहर नगरपालिका–११, चिती बजरखुट्टाका ४७ वर्षीय सुके भनेर चिनिने सुग्गरे सार्कीले पैसा सापटी माग्दा नदिएको झोंकमा चितीकै तिवारीडाँडा बगैंचाकी ६२ वर्षीया वृद्धा सान्नानी घर्तीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङले आज (बिहीबार) सान्नानीको हत्या अभियोगमा पक्राउ परेका सुग्गरेलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी मिनबहादुर घलेका अनुसार सुग्गरेले सान्नानीसँग ५० हजार रुपैयाँ सापटी मागेको र नदिएपछि खुर्पा (हँसिया) प्रहार गरी हत्या गरेको अनुसन्धानमा देखिएको छ । ‘सुग्गरेले बाबा–आमा बिरामी छन् भनेर सान्नानीसँग ५० हजार रुपैयाँ मागेछन् । सान्नानीले पैसा नभएको भनेपछि सुग्गरेले खुर्पा प्रहार गरेको पाइयोे’ उनले भने ।   घटनाका बेला सुग्गरेले मादक पदार्थ सेवन गरेको पनि पाइएको प्रहरीले जानकारी दिएको छ ।

सान्नानीलाई हँसिया प्रहार गरी भागेका सुग्गरेलाई प्रहरीले सुन्दरबजार नगरपालिका–६, खत्रीठाँटीबाट बुधबार दिउँसो साँढे २ बजेतिर समातेको हो । मंगलबार राति साँढे ८ बजेतिर वृद्धामाथि हँसिया प्रहार गरी आफ्नै घर गएर सुतेका उनी बिहान उठेर भागिरहेका बेला प्रहरीले पक्राउ गरेको डीएसपी घलेले जानकारी दिए ।

घटनाबारे जानकारी आएको ६–७ घण्टाको अवधिमा अपराधीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए । प्रहरीले पक्राउ गरेका सुग्गरेको घरबाट बुद्धामाथि प्रहार गरेको हँसिया बरामद गरेको थियो ।

हँसिया प्रहारबाट टाउको पछाडि र मुखमा चोट लागेर मृत्यु भएका सानुनानीको शव मंगलबार बिहान साँढे ८ बजेतिर जीपधनीले देखेका थिए । सान्नानी आफू बिरामी रहेको र मंगलबार बिहानै काठमाडौं जानुपर्ने भएकाले उदिपुरसम्म छोड्न भनी सोमबार साँझ जीपचालकलाई फोन गरेकी थिइन् । जीप चालकसँगै जीपधनीले फोन गर्दा पनि नउठेको र हर्न बजाउँदा समेत बाहिर ननिस्किएपछि तगारो खोलेर आँगनमा रगताम्य अवस्थामा सान्नानीको शव भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठका अनुसार पक्राउ परेका व्यक्तिउपर जिल्ला अदालत लमजुङबाट बिहीबार ७ दिनको म्याद थप गरी ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान थालिएको छ । घटनास्थल र घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका सुग्गरेको घर हिँडेर २०–२५ मिनेटको दूरीमा छ । मृतक सान्नानीका छोरा कोरियामा छन् । बुहारी र छोरी काठमाडौं बस्छन् । सुग्गरेका तीन छोरा र श्रीमती छन् ।

Comments

सम्बन्धित खवर