•  ३१ भाद्र २०८१, सोमबार
  •  1:33:43 AM

केरलामा पहिरो अपडेट : मृत्तकको संख्या १३० पुग्यो, कम्तीमा २२० जना बेपत्ता

- श्रावण १६, २०८१ मा प्रकाशित



नयाँदिल्ली । भारतको वायनाडमा पहिरोमा परी अहिलेसम्म १३० जनाको मृत्यु भएको छ भने अझै २२० जना सम्पर्कविहीन रहेका भारतीय सञ्चारमाध्यममा बताइएको छ ।

केरलाको वायनाडमा भारी वर्षाका कारण सोमबार राति ४ बस्तीमा पहिरो खसेको थियो । बिहान २ बजेदेखि ६ बजेसम्मको पहिरोको चपेटामा चार गाउँ परेका हुन् । मुण्डक्काई, चुरामाला, अट्टामाला र नूलपुजामा पनि घर, पुल, सडक र सवारीसाधन बगेका छन् ।

हालसम्म ११६ जना घाइतेको उद्धार गरी अस्पताल लगिएको दैनिक भास्करमा उल्लेख छ । उद्धारका लागि सेना, वायुसेना, एसडीआरएफ र एनडीआरएफका टोली घटनास्थलमा छन् । सेनाले राति अबेरसम्म भग्नावशेषबाट १ हजार जनाको उद्धार गरेको छ । रात परेकाले साँझ उद्धार रोकिएको थियो । आजै बिहान फेरि उद्धार कार्य सुरु हुनेछ। एनडीआरएफका टोली कमाण्डर एसआई सञ्जय सोनीले आज बिहान ७ बजेदेखि उद्धार कार्य सुरु हुने बताएका समाचार बीबीसीमा रहेको छ ।

कन्नूरबाट २२५ सेनाका जवानहरूलाई वायनाड पठाइएको छ । उद्धारका लागि वायुसेनाका दुईवटा हेलिकप्टर पनि पठाइएको थियो तर वर्षाका कारण काम गर्न नसकी कोझिकोड फर्किएको जनाइएको छ ।  त्यस्तै मौसम पूर्वानुमान महाशाखाले बुधबार प्रदेशका ८ जिल्लामा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । जसका कारण यहाँका सबै विद्यालय बन्द रहने छन् । दुर्घटनापछि राज्यमा दुई दिने राजकीय शोकको घोषणा गरिएको छ ।

Comments

सम्बन्धित खवर