•  ३१ भाद्र २०८१, सोमबार
  •  1:15:36 AM

प्रदेशकै नमुना इटहरीकाे जनता मावी, जहाँ नीजी विद्यालय छाडेर बिद्यार्थीहरू भर्ना हुन लाग्छन लाइन

- श्रावण १६, २०८१ मा प्रकाशित



इटहरी । सुनसरी जिल्लाको इटहरीमा रहेको जनता माध्यमिक विद्यालयमा यस वर्ष नयाँ विद्यार्थी भर्नाका लागि ठूलो चाप परेको छ। निजी विद्यालयहरूलाई टक्कर दिने गुणस्तरीय शिक्षा र भौतिक संरचनाका कारण यहाँ निजी विद्यालय छाडेर विद्यार्थी आउन थालेका छन्। यस वर्ष कक्षा २ देखि ९ सम्म २४० जना नयाँ विद्यार्थी भर्ना गर्न खुलाइएकोमा १,३९१ जना विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छन्।

विद्यार्थीको चाप बढेपछि विद्यालयले प्रतिस्पर्धात्मक परीक्षामार्फत विद्यार्थी छनोट गर्ने नीति अपनाएको छ। यस विद्यालयको शिक्षामा सुधार देखेर अभिभावकहरू निजी विद्यालय छोडेर सामुदायिक विद्यालयतर्फ आकर्षित भएका छन्। इटहरीका जनप्रतिनिधि, कर्मचारी, र शिक्षकहरू समेत आफ्ना छोराछोरीलाई यहाँ पढाउन इच्छुक छन्।

विद्यालयले न्यून शुल्कमा स्तरीय शिक्षा प्रदान गरिरहेको छ, जसले अभिभावकलाई खुसी बनाएको छ। विद्यालयमा राम्रो सिकाइ वातावरणका लागि पाठ घोकाएर भन्दा पनि बुझेर सिकाइने शिक्षण पद्धति अपनाइएको छ। यसका साथै, बस सुविधा, डिजिटल बोर्डसहितको स्मार्ट कक्षा कोठा जस्ता विशेषताहरूले विद्यालयलाई आकर्षक बनाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालका अनुसार, अनुभवि शिक्षक र नयाँ प्रविधिको प्रयोगले विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि भएको छ। बोर्डिङ स्कुलभन्दा राम्रो पढाइ हुने भएपछि बोर्डिङमा पढ्ने विद्यार्थी पनि यस विद्यालयमा आउने क्रम बढेको छ। जनता माध्यमिक विद्यालयले ‘सरकारी स्कुलमा पढाइ राम्रो हुँदैन’ भन्ने मान्यता परिवर्तन गर्दै उत्कृष्ट शिक्षाको उदाहरण प्रस्तुत गरेको छ।सकारात्मक पहलकदमीले सरकारी विद्यालयहरूको स्तर सुधार गर्न सकिन्छ भन्ने यो विद्यालयले देखाएको छ।

 

Comments

सम्बन्धित खवर