•  ३१ भाद्र २०८१, सोमबार
  •  1:18:31 AM

शिक्षामन्त्रीलाई बास्काेटाकाे सुझाव

- श्रावण १५, २०८१ मा प्रकाशित



माननीय शिक्षामन्त्रीज्यू,
शैक्षिक अभिवादन नमस्कार ।

शैक्षिक गतिविधि र शिक्षण पेशाबाट राजनीतिमा आउनुभएको तपाई शिक्षामन्त्रीको जिम्मेवारी लिएर कार्यस्थलमा उभिएसँगै आशातीत केही उर्जा–उर्वरता पलाएको छ र केही जाँगर बढेको छ ।
प्रारम्भिक बाल शिक्षादेखि उच्चशिक्षासम्म आमनागरिकको पहुँच बिस्तार गर्नु, रुचिकर क्षेत्रमा अध्ययन र पठनपाठनको वातावरण सुनिश्चित गर्नु र संविधानतः नागरिकको नैसर्गिक हक अधिकारको रूपमा शिक्षाको उज्यालोबाट शिक्षितदिक्षित तुल्याउनु आवश्यक छ ।
वस्तुतः यसमा आधारित रहँदै केही सुझाव अघि सार्न चाहन्छु ।

१) हामीकहाँ अझै पनि सिद्धान्तमा समानता व्यवहारमा असमानता छ । देशको संविधानले नागरिकको शिक्षा, स्वास्थ्य क्षेत्रमा पहुँच र प्रत्याभूतिलाई नैसर्गिक हक र अधिकार किटान गर्छ । देशमा प्रचलित शिक्षा व्यवस्थापनले दुई प्रकारको नागरिकको परिचय कमाइरहेको छ, पहिचान बढाइरहेको छ र क्रमशः दुई खाले नागरिक जन्माइरहेको छ । यो तालले समतामा आधारित नागरिक समाजको निर्माणसहित समाजवादको आधारशीला तयार गर्न सकिँदैन । यसतर्फ तहगत हिसावले क्रियाशील स्थानीय, प्रदेश र संघीय सरकारको अविलम्ब ध्यान जान जरुरी छ । तपाई नेतृत्वको संघीय सरकार, शिक्षा मन्त्रालय यसतर्फ निर्देशित रहनुपर्छ । अविलम्ब ध्यान पुगोस् र अग्रसरता लिन सक्नुहोस् !

२) समाजमा औसत कमजोर आय–आम्दानीमुनिका नागरिकका छोराछोरीहरू तमाम सामुदायिक विद्यालय पढ्छन् र हुनेखाने वर्गाश्रित नागरिकका छोराछोरीहरू निजी विद्यालय पढ्छन् भन्ने भाष्य जनजिब्रोमा कायम छ । यो आफैंमा भयंकर ठूलो बेमेल हो र आफैंमा एकखालको सामाजिक मनोरोग पनि । सरकारको तहबाट भएको शिक्षाको सामुदायिकीकरण वा सार्वजनिकीकरण र निजीकरणले उत्पादित जनशक्ति अविभाज्य छैन, विभाजित छ र परस्पर बेमेलको अवस्थामा छ । सबैखाले शिक्षा राज्यकै निगाह, नियमन र नियन्त्रणमा छन् । विभेदको यो खाडललाई फराकिलो हुन दिनुहुँदैन । न्युनीकरण गर्नतर्फ प्रभावकारी कदम चाल्न जरुरी छ ।

३) निजी विद्यालयअन्तर्गत प्रयोगमा आएको पाठ्यक्रम, पाठ्पुस्तक, पाठ्यविधि, पाठ्यप्रविधि, पाठ्यशुल्क, दक्षजनशक्ति निर्माणका लागि शिक्षक–कर्मचारीको आवश्यक शैक्षिक योग्यता र तिनले पाउने पारिश्रमिकता आदिमा एकरुपता छैन । यो सामाजिक न्याय, समनता र समतामा आधारित पनि छैन । एकरुपता कायम गर्ने पहल प्रयत्न गरियोस् !
४) सामुदायिक विद्यालयको जीवनमा विद्यालय व्यवस्थापन समिति स्थानीय अभिभावकसहित सिंगो समुदायको प्रतिनिधित्व गर्ने प्रतिनिधि संस्था हो । विद्यालय विकासमा यसले समुदाय आधारित रहँदै सम्बन्ध–सेतुका हिसावले काम गरेको छ र हुन्छ । समुदायले आफ्नो दैनन्दिन आवश्यकता र कतिपय रहरलाई बन्दक राखेर सामुदायिक विद्यालय बनाएको, चलाएको र व्यवस्थापन गरेको पृष्ठभूमिमा आधारित रहँदै गठित विद्यालय व्यवस्थापन समितिलाई पूर्ण अधिकारसहित क्रियाशील तुल्याइयोस् !

५) जवाफदेही बनाउन र अपनत्वबोधको भावना जगाउन सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीका छोराछोरीलाई अनिवार्य आफ्नो विद्यालयमा वा कार्यस्थल घरपायक नभए सोही प्रकृतिका विद्यालयमा पढाउनुपर्ने अनिवार्य अवस्था सिर्जना गरियोस् ! कक्षागत पठनपाठनको तहसम्म चलेका विद्यालयमा चाहिने विद्यालय व्यवस्थापन समिति गठन र सञ्चालनको मापदण्ड सोहीअनुसार न्युनतम् कक्षा उत्तीर्ण गरेको हुनुपर्ने बनाइयोस् !

६) प्रहरीले आफ्नो निर्धारित कार्यस्थल र परिभाषित कार्यावधिमा गरेको अपराध अनुसन्धानको क्षेत्रमा प्राप्त सफलताको जगमा मूल्यांकनसहित उसको बढुवा हुन्छ भने झैँ शिक्षकले पढाएको विषयमा मातहत रहने विद्यार्थीले प्राप्त गरेको उत्तीर्ण दर र सफलताको आधारमा शिक्षकको मूल्यांकन र बढुवा हुने प्रणाली कायम गरियोस् !

७) विज्ञान र प्रविधिमा पहुँच बिस्तार भएसँगै उपलब्ध पाठ्यक्रम, पाठ्यप्रणाली, प्रविधिमिश्रित पाठ्यशैली औसत ५÷७ वर्षमा फेरबदल भएको देखिन्छ । यसकारण शिक्षकलाई पनि फेरिएको पाठ्यक्रम, पाठ्यप्रणाली, प्रविधिमिश्रित पाठ्यशैली आदिमा अद्यावधिक गर्न अनिवार्य परीक्षामा सामेल हुनुपर्ने विधि बसालियोस् !

८) सैद्धान्तिक कुरा के हो भने सामुदायिक विद्यालयको प्रतिस्पर्धा निजी विद्यालयसँग हुन्छ, अथवा सामुदायिक विद्यालयको प्रतिस्पर्धी शक्ति भनेको निजी विद्यालय नै हो । शक्ति सन्तुलन र शैक्षिक जनशक्ति सञ्चयका दृष्टिकोणले यो दुबै विद्यालयबीच मित्रवत् प्रतिस्पर्धा हुन्छ । मित्रवत् प्रतिस्पर्धाका लागि पनि केही मानकहरू हुन्छन् । निजी विद्यालयको लगानीकर्ता सामुदायिक विद्यालयको शिक्षण पेशामा रहनुहुँदैन । वस्तुतः लगानीमोहका कारण यो उपस्थितिले परस्पर मित्रवत् प्रतिस्पर्धालाई कमजोर पार्दछ र सामुदायिक विद्यालयको शिक्षा अपेक्षित मात्रामा उठ्न सक्दैन । यसनिमित्त नियमनकारी निकायबाट नियन्त्रणमा लिँदै सामुदायिक विद्यालयको स्थायी शिक्षकले निजी विद्यालयमा लगानी गर्न नपाउने मानकसहितको विधि बनाइयोस् !

९) यसवर्ष पनि अंग्रेजी माध्यमभन्दा नेपाली माध्यममा अध्ययनरत विद्यार्थी धेरै अनुत्तीर्ण रहेको देखियो । दुबै माध्यममा सञ्चालित पठनपाठनको क्षेत्रमा गणित विषयमा ठूलो संख्या अनुत्तीर्ण रहेको देखियो । स्थायी शिक्षकले पढाएकोभन्दा अस्थायी, निजीस्रोत र करारका शिक्षकले पढाएका विद्यार्थीको उत्तीर्ण दर औसत धेरै राम्रो देखियो । यसको सुक्ष्म लक्षण खोजिनु र उपचारमा जानु अनिवार्य छ । गणितको पठनपाठनलाई प्रयोगमा आधारित अर्थात् प्रयोगात्मक विधिमा ल्याउन जरुरी देखिन्छ ।

१०) समाजमा बढ्दो सामाजिक अराजकता, नकारात्मकता, घिनलाग्दा टिकाटिप्पणी, घृणा, द्वेषादिलाई न्युनीकरण गर्न नैतिक शिक्षा जरुरी छ । एकातिर मानिसमा नैतिक जिम्मेवारीबोधको अभाव छ भने अर्कोतिर हाम्रा पुर्खाले अँगालेको जीवनदर्शन, जीवनशैली, मौलिक मूल्यमान्यता, रैथाने कला संस्कृतिलाई पूनर्जागृत गर्न जरुरी छ । हामीमाथि पश्चिमा शक्तिको प्रहारको निशाना हाम्रो मौलिक शिक्षा र रैथाने संस्कृतिमाथि गडेको छ, यो जबरजस्ती छ । यसलाई निस्तेज तुल्याउँदै आफ्नोपनको समाजवादको आधार निर्माण गर्न जरुरी छ । हाम्रा आफ्नै तौरतरिकामा प्रविधिमिश्रित पठनपाठन वातावरण र पाठ्यपुस्तक निर्माण गर्न सकिन्छ । यसतर्फ ध्यान दिइयोस् !

११) कतिपय सामुदायिक विद्यालयमा विभिन्न निहुँ, नाउँ र बहानामा निजी व्यापारिक व्यवसायिक पब्लीकेशनका पाठ्युपुस्तक पढाइन्छ । यसबाट एकातिर अभिभावकलाई प्रत्यक्ष निकै ठूलो आर्थिक भार र मार परेको छ भने अर्कोतिर राज्यको निःशुल्क पाठ्यपुस्तकसहितको उपस्थिति उपहासपूर्ण भएको छ । यसबाट अभिभावकलाई ठूलो भार र मार पर्न गएको छ । राज्यले निःशुल्क उपलब्ध गराएको पुस्तक सामग्री तलतलसम्म पुग्न पाएको छ । यसमाथि नियमन, नियन्त्रण र व्यवस्थापनसहित जनक शिक्षा सामग्री केन्द्रद्वारा मुद्रित वा प्रकाशित पाठ्यपुस्तकमा आधारित पठनपाठन विधिमा अनिवार्य जानु निर्देशन गरियोस् !

१२) निर्धारित विषय शिक्षामा गुणस्तर पाउने भनेको विषय शिक्षकबाट नै हो । शिक्षकको सहज उपस्थिति, प्रस्तुति र उपलब्धतालाई ध्यान दिनुपर्छ । मूलतः शिक्षकको दैनन्दिन साह्रोगाह्रोको सम्बोधन र व्यवस्थापन गर्दै जाने हो कार्यस्थलमा विषयगत शिक्षकको पूर्वतयारी अर्थात् लेसन प्लान कस्तो छ ? उपलब्ध हाम्रा सिकाइ क्रियाकलाप के–के हुन् ? हाम्रा सिकाइ उपलब्धी के कस्ता छन् ? भाषाको विषयमा विद्यार्थीको फरर पठनशैली कस्तो छ ? पठनपाठन समयको परिपालना कस्तो छ ? मोबाइल फोनबाट हुने शिक्षण के के हुन् ? पठनपाठनमा प्रविधिको प्रयोग कस्तो छ ? व्यवहारिक विषयोपर ज्ञानमाला कस्तो छ ? विद्यार्थी शिक्षक दुबैमा पोशाक पहिरनको अवस्था कस्तो छ ? आमरूपमा विद्यार्थीदेखि लिएर शिक्षक कर्मचारीमा पनि देखिने श्रृंगारको सामान्य असामान्य अवस्था कस्तो छ ? पूर्णकालीन शिक्षक पूर्णकालीन व्यवस्थानप्रति कति जवाफदेही हुनुहुन्छ ? जस्ता मूलभूत विषयोपर दोहोरो अनुगमन, मूल्यांकन र पदोन्नतिसहितको व्यवस्थापनको तहमा जान सकिने प्रावधान तय गरियोस् !

१३) खासगरिकन पहाडी जिल्ला आधारित कतिपय विद्यालयमा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकको उपलब्धता छैन । नियमित हुने पठनपाठनमा पनि सट्टा शिक्षक राखेर पढाउने, एकैपटकमा गोलमटौल पढाउने, निश्चित समय सिमाभित्र पढाउनुपर्ने सामग्रीलाई ठेक्काशैलीमा थोरै समयभरमा पढाउने, शिक्षककाे अनुपातमा विद्यार्थी नहुने वा विद्यार्थीकाे अनुपातमा शिक्षक अभाव रहने आदि प्रचलन कायम छ । यसमाथि सन्तुलन र नियन्त्रण हुन जरुरी छ । अविलम्ब ध्यान जाओस् !
यसो गर्न सकियो भने शिक्षा क्षेत्रमा उभिएका कतिपय निराशा चिर्न सकिन्छ र अपेक्षित सफलता प्राप्त गर्नु अवश्यंभावी छ । तपाईले यस कामको सहजै अगुवाइ गर्न सक्नुहुने छ ।
प्रशस्तै धेरै शुभकामना सहित !

युवराज बास्कोटा

मोरङ निवासी बास्कोटा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल केन्द्रीय सदस्य हुनुहुन्छ ।

Comments

सम्बन्धित खवर