•  २३ भाद्र २०८१, आईतवार
  •  8:18:31 AM

ट्रम्पलाई गोली लागेका कारण सिक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चिटलले दिइन् राजीनामा

- श्रावण ९, २०८१ मा प्रकाशित



एजेन्सी । अमेरिकी सिक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चिटलले मङ्गलबार पदबाट राजीनामा दिएकी छन्।उनले पूर्वराष्ट्रपति एवं नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या प्रयास रोक्ने आफ्नो मिसनमा एजेन्सी असफल भएको स्वीकार गरेकी थिइन्।

जुलाई १३ मा पेन्सिलभेनियास्थित बटलरको एउटा चुनावी र्‍यालीमा २० वर्षीय बन्दुकधारीले ट्रम्पलाई घाइते बनाएपछि चिटललाई पदबाट राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीले दबाब दिइरहेका थिए।

हाउस अफ रिप्रेजेन्टेटिभका रिपब्लिकन अध्यक्ष माइक जोनसनले पत्रकारहरूसँग भने, ‘यो धेरै ढिला भएको छ, उहाँले यो काम कम्तीमा एक साताअघि गर्नुपर्ने थियो, उहाँले रिपब्लिकन र डेमोक्रेट दुवैको आह्वानलाई ध्यान दिनुभएकामा मलाई खुसी लागेको छ।’

चिटलले सोमबार कांग्रेस कमिटीसमक्ष ट्रम्पको हत्या प्रयास ‘दशकौँमा सिक्रेट सर्भिसको सबैभन्दा महत्त्वपूर्ण परिचालन असफलता थियो’ भनेकी थिइन्। रिपब्लिकन र डेमोक्रेट दुवैले उनलाई राजीनामा दिन आह्वान गरेका थिए। उनले सक्रिय अनुसन्धानलाई उद्धृत गर्दै आक्रमणबारे विशिष्ट विवरण दिन अस्वीकार गरेर दुवै दलका सांसदहरूलाई क्रूद्ध बनाएकी थिइन्।

ट्रम्पले पेन्सिलभेनियाको बटलरमा चुनावी कार्यक्रममा बोल्न सुरु गरेको केही मिनेटपछि नै २० वर्षीय बन्दुकधारी थोमस म्याथ्यु क्रुक्सले एआर–स्टाइल एसल्ट राइफलले उनलाई गोली हानेका थिए।

नजिकैको एउटा भवनको छतबाट आठमध्ये पहिलो गोली चलाएको ३० सेकेन्डभन्दा पनि कम समयमा सिक्रेट सर्भिस स्नाइपरले क्रुक्सलाई गोली हानी मारेका थिए। बटलरबाट करिब ५० माइल टाढाको सहरमा बस्ने क्रुक्सले एक्लै काम गरेको र कुनै पनि बलियो वैचारिक वा राजनीतिक झुकावको पहिचान गर्न नसकेको अनुसन्धानकर्ताहरूले निष्कर्ष निकालेका छन्।

गोली हानाहानमा र्यालीमा सहभागी दुई जना गम्भीर घाइते भएका छन् र पेन्सिलभेनियाको फ्रिपोर्ट निवासी ५० वर्षीय अग्निसमनकर्ता कोरी कम्पेरेटरको गोली हानी हत्या भएको थियो।ट्रम्पका पूर्वचिकित्सकले साताको अन्त्यमा उनको दाहिने कानमा दुई सेन्टिमिटर बन्दुकको गोली लागेको घाउ अहिले ठीक हुँदै गएको बताए।

पेप्सिकोका लागि उत्तरी अमेरिकामा सुरक्षा प्रमुख बन्न सन् २०२१ मा जानुअघि चिटलले २७ वर्षसम्म सिक्रेट सर्भिस एजेन्टका रूपमा काम गरेकी थिइन्। उनलाई राष्ट्रपति बाइडेनले एजेन्सी प्रमुखमा नियुक्त गरेका थिए।

Comments

सम्बन्धित खवर