•  २३ भाद्र २०८१, आईतवार
  •  6:37:14 AM

भारतसँग पराजयपछि कप्तान बर्मा- यसपटक धेरै सिक्ने अवसर पायौँ, टोलीको खेलमा गर्व छ

- श्रावण ९, २०८१ मा प्रकाशित



काठमाडाैं । एसीसी महिला एसिया कपमा साविक विजेता भारतसँग ८२ रनले पराजित भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफूहरू अझै बलियो भएर आउने बताएकी छिन्।

खेलपछि कप्तान बर्माले भनिन्, ‘यसपटक हामीले धेरै सिक्ने अवसर पायौँ। भारत र पाकिस्तानविरुद्धको खेलमा सिक्ने राम्रो मौका मिल्यो।’ उनले थपिन्, म मेरो टोलीको खेलप्रति गर्व गरिरहेको छु। हामी राम्रो खेलेका थियौँ, केही कमजोरीहरु थिए त्यसलाई सुधार गर्दै आउने दिनमा अझै राम्रो गर्नेछौँ।’

नेपालले तेस्रोपटक एसिया कप खेल्ने मौका पाएको हो। यसअघि सन् २०१२ र २०१६ मा नेपाल जितविहीन हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिएको थियो। तर यसपटक भने युएईलाई हराउँदै नेपालले एसिया कपमा ऐतिहासिक एउटा जित दर्ता गरेको छ।

खेलपछि भारतीय टोलीकी कप्तान स्मृति मन्दनाले खेलमा नेपाली टोलीको अनुहारमा देखिएको मुस्कानले आफूहरूलाई आकर्षित गरिरहेको बताइन्। उनले भनिन्, ‘अन्य टोलीहरू हार्ने अवस्थामा हुँदा उनीहरूको अनुहारमा त्यो भाव हुँदैन, जुन नेपाली टोलीको अनुहारमा थियो। उनीहरू हरेक बलमा रमाइलो गरेर खेलिरहेका छन्। आशा छ, नेपालले अझै एक्सपोजर पायो भने राम्रो गर्नेछ।’

मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएपछि समूह चरण पार गर्न भने सकेन।समूह चरणको पहिलो खेलमा युएईमाथि ६ विकेटको ऐतिहासिक जित निकाल्दै सानदार सुरुवात गरे पनि दोस्रो खेलमा पाकिस्तानविरुद्ध ९ विकेटको फराकिलो हार व्यहोर्न पुग्यो।

समूह ए मा नेपालविरुद्धको जितसँगै भारत अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ। भारतले ३ खेलबाट ६ अंक बनाएको छ। २ खेलमा जित र १ खेलमा हार भोगेको पाकिस्तान दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो।२ अंक जोडेको नेपाल तेस्रो स्थानमा रहेर एसिया कप यात्रा सकाएको छ। युएई भने समूह चरणका सबै खेलमा पराजित हुँदै अंक तालिकाको पुछारमा रहेर घर फर्किएको छ।

Comments

सम्बन्धित खवर