•  १६ कार्तिक २०८१, शुक्रबार
  •  11:25:32 AM

अधिकृत नहुँदा खोटाङको दुवै इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध

- पुष २७, २०८० मा प्रकाशित



खोटाङ । गृह–मन्त्रालयले कर्मचारी व्यवस्थापन नगरिदिँदा इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध भएको छ । इलाका प्रशासन कार्यालय ऐंसेलुखर्कको गत मंसिर १८ गतेदेखि र इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा यही पुस २४ गतेदेखि पूर्णरुपमा अवरुद्ध भएको हो ।

अहिले दुवै इलाका प्रशासन कार्यालयमा नागरिकता वितरण, दलित जनजाति प्रमाणीकरण एवम् सिफारिस, नाबालक परिचयपत्र प्रदानलगायत सम्पूर्ण प्रशासनिक सेवा रोकिएका छन् । ऐंसेलुखर्कका नायब सुब्बा राजेन्द्र भुर्तेलको कामु शाखा अधिकृत अवधि मंसिर १७ गते सकिएपछि दैनिक सेवा प्रभावित भएको हो ।

इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध हुँदा गाउँपालिकाका सातैवटा वडाका नागरिक डेढ महिनादेखि  समस्यामा परेको गाउँपालिकाका प्रमुख गिरेन्द्रबहादुर राईले जानकारी दिए । इलाका प्रशासन कार्यालय ऐंसेलुखर्कबाट नागरिकता सिफारिसलगायत प्रशासनिक सेवा रोकिएपछि प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले ऐसेलुखर्क पुगेर यही पुस ४ र ५ गते सेवा प्रदान गरेका थिए ।

नासु भुर्तेलको कामु अवधि सकिएकै दिन जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई कामु अवधि सकिएको जानकारी दिए पनि हालसम्म कुनै सुनुवाइ नभएको जनाइएको छ । ‘शाखा अधिकृतको व्यवस्था गर्न वा कामु अधिकृत नियुक्त गरिदिन पुस १६ गते पनि मन्त्रालयलाई पत्राचार गरेका थियौँ । तर हालसम्म पत्रको सुनुवाइ भएको छैन’, जिल्ला प्रशासन कार्यालका एक अधिकृतले भने, ‘गृह–मन्त्रालयले दीर्घकालीन समस्या समाधान गर्नुपर्छ । म्यादी शाखा अधिकृत अधिकृतको जिम्मेवारी दिइरहे पुनः समस्या दोहोरिरहन्छ ।’

यसैगरी, गृहले इलाका प्रशासन कार्यालय, खोटाङ बजारमा कार्यरत नायब सुब्बा मोहनबहादुर राईलाई छ महिनाका लागि दिएको कामु अवधि सकिएपछि नागरिकता वितरणलगायत प्रशासनिक सेवा रोकिएको छ । यसअघि शाखा अधिकृत नहुँदा गत असार २६ गतेदेखि इलाका प्रशासन कार्यालयको सेवा रोकिएको थियो ।

गृहले बढीमा छ महिनाका लागि नासु राईलाई कामु मुकर्रर गरेर पत्र पठाएपछि गत साउन २२ गतेदेखि नागरिकता वितरणलगायत सेवा सुरु गराइएको थियो । सो कामु अवधि यही पुस२० गते सकिएको जनाइएको छ । कार्यक्रमका सिलसिलामा खोटाङ बजार पुगेका प्रमुख जिल्ला अधिकारी सुनारले पुस २१ र २२ गते नागरिकता जारी गरेका थिए । खोटेहाङ गाउँपालिका–७, खोटाङ बजारमा रहेको इलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ, जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका २१ वडाका सेवाग्राही समस्यामा परेका छन् ।

इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा अवरुद्ध भएपछि सेवाग्राहीहरु काम नगरी फर्कन बाध्य भएको नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए । ‘पुस २४ गते इलाका प्रशासन कार्यालय खोटाङ बजार पुगेको थिएँ । त्यो दिन २२ जना सेवाग्राही काम नगरी फर्कन बाध्य भएका थिए’, उनले भने, ‘यो म्यादी कार्यालयबाट कहिलेदेखि जनताले ढुक्कसँग सेवा लिन पाउने ? एकै दिन २२  सेवाग्राही काम नै नगरी फर्किनु परेको दुःखद खबर छ । कतिको, कति अप्ठ्यारो परिस्थिति पनि हुन्छ ।’ इलाका प्रशासन कार्यालयमा जिम्मेवार कर्मचारीको व्यवस्था नगर्दा अत्यावश्यक कामका लागि सेवाग्राही जिल्ला प्रशासन कार्यालय दिक्तेल पुग्नुपर्ने बाध्यता छ । इलाका प्रशासन कार्यालयको सेवा पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायमा पहल भइरहेको खोटेहाङ गाउँपालिका प्रमुख उदिम राईले बताएका छन् ।

Comments

सम्बन्धित खवर