कोशीमा मिल्यो भागबण्डा, कांग्रेसलाई मुख्यमन्त्रीसहित चार, माओवादीलाई तीन
- कार्तिक २५, २०८० मा प्रकाशित
मन्त्रिपरिषद विस्तार तिहारपछि
इटहरी । कोशी प्रदेशमा रहेका सत्तारुढ दलहरुबीचमा राजनीतिक नियुक्ति बाँडफाँडमा सहमति भएको छ । तिहार अगाडि नियुक्ति नभए पनि दलहरुबीचमा राजनीतिक नियुक्तिका बिषयमा सहमति जुटेको हो ।
मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार, बजेट प्रतिस्थापन विधेयक र सरकारका अन्य कामबारे शुक्रबार गठबन्धन दल माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रकुमार राईसँग छलफल गरेका थिए । बैठकले कोशी प्रदेश खेलकुद विकास बोर्ड र प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्तिका बिषयमा सहमति जुटेको हो ।
उमेर हदका कारण कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले अनिवार्य अवकास पाउँदैछन् । उनको ठाउँमा माओवादीका तर्फबाट अध्यक्ष नियुक्त गर्ने सहमति जुटेको छ । यस्तै प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव भने एकीकृत समाजवादीलाई नै दिने सहमति भएको छ । कोशी प्रदेश खेलदकुद विकास बोर्डको सदस्य सचिव समाजवादीकै कोटाबाट हंसराज वाग्ले छन् । उनलाई निरन्तरता दिने की नयाँ नियुक्ति गर्ने भन्ने बिषयमा भने समाजवादीले टुङ्गो लगाउने छ ।
समाजवादीभित्र उनको ठाउँमा नयाँ व्यक्तिलाई नियुक्त गर्नुपर्ने बिषयमा विवाद रहेको छ । प्रदेश योजना आयोगको उपाध्यक्षमा भने मुख्यमन्त्री केदार कार्कीले राजनीतिक विश्लेषक पुरञ्जन आचार्यलाई नियुक्त गरिसकेका छन् । उनी काङ्ग्रेसको फरक विचार समूह कोइराला समूहसँग नजिक छन् । योजना आयोगमा कांग्रेसका थप एक जना सदस्य नियुक्ति गर्ने र बाँकी गठबन्धन दलबाट नियुक्ति गर्ने समेत सहमति भएको छ ।
सहमतिमा पुग्न अघि मुख्यमन्त्री कार्कीले काँग्रेस संसदीय दलका नेता उद्धब थापा, माओवादीका आङ्बो, नेकपा एकीकृत समाजवादीका राई र जसपाकी सांसद निर्मला लिम्बूसँग बिहीबार पनि छलफल गरेका थिए । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले छठ पछाडि सबै कुरा टुङ्गो लाग्ने बताएका छन् । उनले भने, ‘अहिले प्रारम्भिक छलफल भएको हो । छलफललाई अन्तिम रुप दिन अझै बाँकी नै छ ।’ उनका अनुसार कोशी प्रदेशका सत्ता गठबन्धन दलहरुबीच छठपछि मात्रै सरकार विस्तार गर्ने सहमति भएको छ । सत्ता गठबन्धन दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको छलफलले छठपछि मात्रै सरकार विस्तार गर्ने सहमति गरेको आङ्वोले बताए ।
कोशी प्रदेशमा मंसिर १६ गतेसम्ममा बजेट अध्यादेश प्रतिस्थापन बिधेयक ल्याइसक्नु पर्नेछ । बजेट अध्यादेश प्रतिस्थापन बिधेयकमा साझा कार्यक्रम ल्याउने समेत सहमति भएको छ । छलफलले निश्चित मापदण्ड बनाएर बजेट प्रतिस्थापन विधेयक तयार पार्ने सहमति गरेको छ ।
कांग्रेसलाई मुख्यमन्त्रीसहित चार, माओवादीलाई तीन
कोशी प्रदेशमा काङ्ग्रेसले मुख्यमन्त्री सहित ४ मन्त्री पाउने गरिको प्रारम्भिक छलफल भएको छ । माओवादीले ३, नेकपा एसले १ र जसपाले १ मन्त्री पाउने गरिको छलफल भएको हो । तर जसपा कोशी प्रदेश समितिले भने तत्काल सरकारमा नजाने निर्णय गरेको छ । पार्टीले निर्णय गरेपनि प्रदेश सभा सदस्य निर्मला सुव्बा भने सरकारमा जान इच्छुक छन् । छलफलमा जसपा पनि सरकारमा सहभागी हुने समझदारी बनेको छ ।
कोशी प्रदेशमा अहिले मुख्यमन्त्रीसहित काङ्ग्रेसबाट सम्शेर राई, माओवादी केन्द्रबाट गणेश उप्रेती र एकिकृत समाजवादीबाट कमलप्रसाद जवेगु मन्त्री नियुक्त भएका छन् । दलहरुका बीचमा सहमति नजुट्दा उनीहरुले समेत मन्त्रालयको जिम्वेवारी पाएका छैनन् । उनीहरुको जिम्मेवारी पनि छठ पछाडि मात्रै तोकिने छ ।
सम्बन्धित खवर
-
ताजा भाद्र २६, २०८१७० लाख खर्चेर मेक्सिको हुँदै अमेरिका छिरेका भरत उतै अस्ताए
-
ताजा भाद्र २६, २०८१आज सुवासचन्द्र नेम्वाङको स्मृतिसभा, प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने
-
ताजा भाद्र २६, २०८१निषेधाज्ञा र प्रहरी हस्तक्षेपका बाबजुद केदार कार्कीको अनसन जारी
-
ताजा भाद्र २६, २०८१बैतडीमा जीप दुर्घटना : १८ वर्षीया युवतीको मृत्यु, चार जना घाइते
-
ताजा भाद्र २६, २०८१सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?
Comments