•  १६ कार्तिक २०८१, शुक्रबार
  •  10:24:16 PM

इटहरीमा कर वृद्धि विरुद्ध नागरिक समाज आन्दोलित : मौन धर्ना देखि ‘नो ट्याक्स’ घोषणा सम्म

- भाद्र १९, २०८० मा प्रकाशित



इटहरी । इटहरीमा अवैधानिक तवरबाट बढाइएको करले नगर बासीहरू प्रत्यक्ष मारमा परेको निष्कर्ष सहित नागरिक समाज चरणबद्ध आन्दोलनमा उत्रिएको छ । उपमहानगरले अचाक्ली बढाएको करको विषयमा पटक पटक ध्यानाकर्षण गराउँदै आएको नागरिक समाज इटहरीले थप आन्दाेलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

मङ्गलवार इटहरीमा पत्रकार सममेलनकाे आयोजना गर्दै नागरिक समाज इटहरीले विभिन्न आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो । कार्यक्रमहरूमा आगामी भदौ २२ गते उपमहानगरको कार्यालय गेट बाहिर मौन धर्ना दिइने , २३ गते सराेकारवालाहरूसंग छलफल तथा बृहत् भेला गर्ने र २५ गते बृहत् नागरिक भेला गरी ‘नो ट्याक्स’ घोषणा गर्ने सम्मको कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

कर वृद्धिको बारेमा उपमहानगरलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर थप आन्दोलन घोषणा गर्नुपरेको नागरिक समाज इटहरीकी अध्यक्ष बालिका भट्टराइले बताइन ।

आर्थिक मन्दीको कारण व्यवसायीहरू पलायन भइरहेको र सर्वसाधारणले हातमुख जोर्न समस्या भइरहेको समयमा कर वृद्धि अन्यायपूर्ण भएको समाजको ठहर छ । नगर विकासको योजना समेत बनाउन नसकेको र पुँजीगत खर्च पुरै उपयोगसमेत गर्न नसकेको अवस्थामा कर बढाउनु उपयुक्त नभएकोसमेत नागरिक समाजको ठहर छ ।

Comments

सम्बन्धित खवर