•  ८ मंसिर २०८१, शनिबार
  •  4:18:07 AM

जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

- भाद्र १७, २०८० मा प्रकाशित



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् ।आइतवार “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले सरकारको सबै निकायहरुलाई जनताको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका हुन् । उनले आफूहरुलाई महत्वको नलाग्ने गुनासोहरु जनताको दैनिक जिवनका लागि महत्वपूर्ण हुने भन्दै त्यसालाई ख्याल गर्न आग्रह गरे ।

उनले सार्वजनिक निकायप्रतिको नागरिकका सुझावहरु अमृत समान हुने बताए । सार्वजनिक निकायहरुमा गुनासो सुनुवाई गर्ने संयन्त्र रहेपनि त्यसले जनताको मुहार उज्यालो बनाउन नसकेको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले जनताका गुनासो तथा जिज्ञासाहरुलाई बास्केटमा राखेर कार्यालयमा स्टोर मात्रै गर्ने परम्परागत संयन्त्र र कार्यशैलीले जनताप्रतिको उत्तरदायित्व बोध नगराउने स्पष्ट पारे । प्रधानमन्त्री दाहालले सबै संयन्त्रलाई उत्तरादायित्व बोधले तिखारेर कार्य सम्पादन गर्न सकेमा मात्र सरकारप्रति जनविश्वास बढेर जाने बताए ।

उनले भने, ‘यस संयन्त्रलाई सरकारी नीति, निर्माणमा नागरिक पृष्ठपोषण हुने प्रणालीको रुपमा विकास गर्नुपर्ने नै छ । यसका साथै गुनासो व्यवस्थापन प्रणालीलाई कृतिम बौद्धिकतासँग आवद्धता गर्नुपर्ने लगायत नागरिकका उत्कृष्ट विचार लिने क्राउड सोर्स गभर्नेन्सका रुपमा विकास गर्न पनि त्यत्तिकै अपरिहार्य छ । सुशासनको पहिलो शर्त सरकार र जनताबीचको आत्मिय सम्बन्धको विकास हुनु हो । जनतामा सरकार पनि छ, भन्ने अनुभुति गराउन सकिएन भने हामीले जे–जति सेवा प्रवाहमा सुधार गरे पनि या सुशासनका कुरा गरेपनि यसले धेरै अर्थ राख्दैनँ ।

त्यसैले म नेपाल सरकारका सबै निकायहरुलाई जनताको गुनासो व्यवस्थापनको विषयलाई पहिलो प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न विशेष निर्देशन दिन चाहन्छु । हाम्रा लागि साना तथा धेरै महत्वका नलाग्न सक्ने गुनासोहरु आम जनताको लागि दैनिक जिवनका आयामसँग प्रत्यक्ष जोडिने महत्वपूर्ण विषय हुन् सक्छन् । गुनासा तथा जिज्ञासाहरु सबै महत्वपूर्ण नै हुन्छन् र सार्वजनिक निकायप्रतिको नागरिकका सुझावहरु अमृत समान हुन्छन् भनेर हामीले बुझ्नुपर्ने हुन्छ । अहिले हाम्रा विभिन्न सार्वजनिक निकायहरुमा गुनासो सुनुवाई गर्ने संयन्त्र रहेका छन् । तर सबै संयन्त्र अझै जनताको मुहार उज्यालो बनाउन सक्ने ऐनाको रुपमा रुपान्तरण हुन सकेका छैनन् । जनताका गुनासो तथा जिज्ञासाहरुलाई बास्केटमा राखेर कार्यालयमा स्टोर मात्रै गर्ने परम्परागत संयन्त्र र कार्यशैलीले जनताप्रतिको उत्तरदायित्व बोध गराउन सक्दैन । सबै संयन्त्रलाई उत्तरादायित्व बोधले तिखार्न र कार्य सम्पादन गर्न सकेमा मात्र सरकारप्रति जनविश्वास बढेर जान सक्दछ ।’

विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार” पछिल्लो समय प्रभावकारी रुपमा सञ्चालनमा हुन सकेको थिएन । आइतवारदेखि २४ घण्टा सञ्चालनमा आउने जनाइएको छ । नेपाल टेलिकम र एनसेल मोबाइलबाट ११११ मा फोन गरी गुनासो राख्न सकिन्छ भने इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट पनि गुनासो टिपाउने व्यवस्था गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

Comments

सम्बन्धित खवर