•  १६ कार्तिक २०८१, शुक्रबार
  •  10:13:52 PM

विराटनगरमा सुष्माको रहस्यमय मृत्यु, हत्या भएको माइती पक्षको आरोप

- श्रावण ७, २०८० मा प्रकाशित



विराटनगर । विराटनगर – १२ गराहा टोलकी २१ वर्षीया सुष्मा रायको रहस्यमय तरीकाले मृत्यु भएको छ । रायको आज बिहान २ बजे मृत अवस्थामा शव फेला परेको छ । माइती पक्षले श्रीमान् २३ वर्षीया सुरज शर्माले कुटपिट गरेर हत्या गरेको आरोप लगाएका छन् । सुरजले भने सुष्माले झुन्डिएर आत्महत्या गरेको बताएका छन् ।

सुष्मा र सुरजको चार वर्ष अगाडी प्रेम विवाह भएको हो । सुष्माको माइती घर विराटनगर १२ सैनिक टोलमा रहेको छ । उनीहरूको ३ वर्षको छोरी र ६ महिनाको छोरा रहेको छ । शनिवार दिउँसोदेखि सुष्मा र सुरजको झगडा भएको थियो । झगडा भएपछि सुष्माको हात पनि कचियाले काटिएको थियो । झगडा भएपछि उनी माइती घर सैनिक टोल पनि पुगेको काका सन्तोष रायले बताए ।

‘हामीले सम्झाइ बुझाइ गरेपछि भतिजी सुष्मा घर गएकी थिइन् । आइतबार बिहान २ बजे सुष्माले आत्महत्या गरेको भनेर बखर आयो । त्यसपछि हामी घरमा आइपुग्दा सुष्माको शव खाटमा राखिएको थियो,’ काका सन्तोषले भने, ‘झुन्डिएको भनिएको भतिजीलाई डोरी खोलेर श्रीमानले हस्पिटल पनि लगेको छैन । यदि आत्महत्या नै गरेको थियो भने पनि डोरी खोलेपछि हस्पिटल लानुपर्ने थियो । किन लगिएन ? ।’

झुन्डिएको ठाउँमा खाट रहेको छ । ‘खाट रहेको ठाउँदेखि माथि बास रहेको छ,’ उनले भने, ‘झुन्डिए पनि खुट्टाले खाट भेटिन्छ ।’ सुष्माको आत्महत्या नभएर योजनाबद्ध तरिकाले हत्या भएको माइती पक्षको आरोप छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही हुनुपर्ने उनीहरूको माग रहेको छ ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङका मुद्दा शाखाका प्रहरी निरीक्षक र वडा प्रहरी कार्यालय मोरङका डिएसपी विजय श्रेष्ठको नेतृत्वको टोली पुगेर घटना मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ । घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । ‘अहिले घटनाको अनुसन्धान सुरु भएको छ ,’ उनले भने, ‘पोस्टमार्टम रिपोटपछि थप विषय खुल्नेछ ।’

Comments

सम्बन्धित खवर