•  १६ कार्तिक २०८१, शुक्रबार
  •  10:21:41 PM

झापा, मोरङ, सुनसरी लगायत कोशीका ११ जिल्लामा फैलियो डेँगी

- श्रावण ५, २०८० मा प्रकाशित



काठमाडौं । लामखुट्टेको टोकाइबाट हुने डेँगी संक्रमण झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ । एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा यसको संक्रमण फैलिन्छ ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत (डेँगी फोकल पर्सन) विवेचना चम्लागाईंका अनुसार सात महिनायता झापामा २४, मोरङमा २५ र सुनसरीमा २४० जना डेँगीका बिरामी फेला परेका छन् । उनका अनुसार यो अवधिमा कोशी प्रदेशका ११ जिल्लामा डेँगी रोगीको संख्या ३१२ जना पुगिसकेको छ । मधेस, पहाड र हिमाली जिल्ला सबैतिर डेँगी फैलिएको पाइएको छ ।

गर्मी र बर्खायाममा डेँगी फैलिने गरेको छ । डेँगीका अधिकांश बिरामी एक महिनाभित्र फेला परेका हुन् । सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाका अस्पतालमा डेँगीका बिरामीको उपचार भइरहेको छ ।

पछिल्लो साता मात्रै सुनसरीमा ५३, मोरङमा नौ, झापामा चार, तेह्रथुममा पाँच, भोजपुरमा चार, ताप्लेजुङमा एक र खोटाङमा एक जना डेँगीका बिरामी फेला परेका छन् । कोशी प्रदेशको सोलुखुम्बु, उदयपुर र पाँचथरबाहेक सबै जिल्लामा डेँगीका बिरामी भेटिएका छन् । सबैभन्दा बढी बिरामी सुनसरीमा रहेका छन् । कोशी प्रदेशभर पाइएका डेँगीका बिरामीको दुई तिहाइ संख्या सुनसरीमा नै छन् ।

स्वास्थ्य कार्यालय झापाका स्वास्थ्य निरीक्षक कुलप्रसाद पौडेलले झापामा बिरामी देखिन थालेको बताए । प्रादेशिक अस्पताल भद्रपुरमा डेँगीका बिरामीको उपचार भइरहेको र डेँगी फैलिन नदिन जनचेतना कार्यक्रम सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए । रासस

Comments

सम्बन्धित खवर