•  १६ कार्तिक २०८१, शुक्रबार
  •  8:26:45 PM

सय किलो सुन बरामद प्रकरण : भन्सार अधिकृत चन्द निलम्बित :सुन जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बनको तयारी

- श्रावण ४, २०८० मा प्रकाशित



इटहरी । करिब सय किलो सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बालाई निलम्बन गरिएको छ । भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको राजस्व अनुसन्धान विभागका एक अधिकारीले जानकारी दिए ।

उनीहरू सुनको भन्सार पासमा संलग्न देखिएकाले निलम्बन गरिएको विभागले जनाएको छ । निलम्बित नायब सुब्बाको भने नाम खुलेको छैन ।
बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अनुमानित सय किलो सुन विभागको टोलीले बरामद गरेको हो । सुनको परिमाण यकिन गर्न बाँकी छ । भन्सार विभागले जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको बताए । उक्त प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्ट समेत रहेका छन् ।राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताए । सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । ’तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ’ उनले भने ।

Comments

सम्बन्धित खवर