•  १६ कार्तिक २०८१, शुक्रबार
  •  4:27:02 PM

एलओडीमा मातेकी किशोरीलाई कोठा लगेर बलात्कार गर्ने कोइराला कारागार चलान

- असार ३०, २०८० मा प्रकाशित



काठमाडौं । ललितपुर जिल्ला अदालतले एलओडी क्लबमा मदिराले मातेकी किशोरीलाई सानेपा पुर्‍याएर बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई कारागार चलान गरेको छ ।कास्कीका ४९ वर्षीय सुदनबहादुर कोइरालालाई कारागार चलान गर्ने आदेश भएको हो । 

कोइरालाले १५ वर्षीया किशोरीलाई जेठ ३१ गते सानेपास्थित आफ्नो अफिस कोठामा बलात्कार गरेको आरोपपछि प्रहरीले तत्कालै उनलाई पक्राउ गरेको थियो । कोइराला र ती किशोरीबीच राति एलओडी क्लबमा भेट भएको थियो । त्यसअघि उनीहरुबीच भेटघाट भएको थिएन । प्रहरी अनुसन्धानमा कोइरालाले पीडित किशोरीले भने बमोजिम एलओडीमा मदिरा किनिदिएको र सात हजार रुपैयाँमा रात बस्ने सहमतिअनुसार आफ्नो अफिस कोठामा पुर्‍याएको बताएका थिए ।

यद्यपी कोइरालाले शारीरिक सम्पर्क गरेको भने अस्वीकार गरेका थिए । पीडित किशोरी बुढानिलकण्ठस्थित दिदीको घरमा उदयपुरबाट भेटघाटका लागि आएकी थिइन् । सामाजिक सञ्जालबाट चिनजान भएकी साथीमार्फत त्यस दिन उनी एलओडीमा रमाइलो गर्न पुगेको उनले प्रहरीमा बताएकी थिइन् । क्लबमा पीडित किशोरीलाई छाडेर ती साथी हराएकी थिइन् । पीडित किशोरीका अनुसार ती साथीसँग भेटाई दिने भन्दै कोइरालाले गाडीमा हालेर उनलाई लगेका थिए ।

एलओडीका सञ्चालक हाजिरी जमानीमा छुटे

नाबालिगलाई क्लबमा छिराएको आरोपमा पक्राउ परेका चर्चित लर्ड अफ ड्रिम्स (एलओडीका सञ्चालकलाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।एलओडीमा छिरेकी १५ वर्षीया किशोरी त्यहाँबाट निस्किएपछि सानेपामा बलात्कृत भएको पाइएपछि प्रहरीले एलओडीका दुई जना सञ्चालकलाई पक्राउ गरेको थियो । काठमाडौं प्रहरी प्रवक्ता सीताराम रिजालले सरकारी वकिलको अनुमति लिएर हाजिरी जमानीमा छाडिएको जानकारी दिए ।

‘हिरासत बाहिर राखेर पनि अनुसन्धान गर्न सकिने व्यवस्थाअनुरुप उनिहरुलाई हाजिरी जमानीमा छाडिएको हो’ एसपी रिजालले भने । प्रहरीले एलओडी सञ्चालक रुदिल बल्लब श्रेष्ठ र राजुसिंह सुवाललाई पक्राउ गरेको थियो ।

Comments

सम्बन्धित खवर