•  १६ कार्तिक २०८१, शुक्रबार
  •  4:07:17 PM

धानको विक्री मूल्य निर्धारणदेखि फिल्म स्टुडियो बनाउनेसम्म यी हुन् मन्त्रिपरिषदका निर्णयहरु

- असार २८, २०८० मा प्रकाशित



काठमाडौं । सरकारले भारतको गुजरातमा हुन लागेको विश्वका विकसित र विकासशील मुलुकहरुको समूह जी–२० को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।असार २६ गते भएको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । त्यस्तै, सरकारले समानीकरण अनुदानतर्फ स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी रकम हस्तान्तरण गर्ने निर्णय गरेको शर्माले जानकारी दिइन् ।

उनका अनुसार आर्थिक वर्ष २०७९/०८० मा वित्तीय समानीकरण अनुदानतर्फ विनियोजित रकममध्ये स्थानीइ तहलाई हस्तान्तरण गर्न बाँकी रहेको रकम १२ अर्ब ७३ करोड ६ लाखको ४० प्रतिशतका दरले हुने पाँच अर्ब नौ करोड २२ लाख रकम स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने निर्णय भएको हो ।

बैठकले परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको प्रतिनिधि मण्डललाई थाइल्याण्डमा आयोजना हुने बिमस्टेक परराष्ट्र मन्त्रीको रिट्रिटमा भाग लिनका लागि स्वीकृत दिने तथा अर्थमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधि मण्डललाई जी–२० को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिनका लागि पनि स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले काभ्रेको बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माणका लागि साढे दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

बनेपा नगरपालिकाको वडा नम्बर १० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वनको उक्त स्थलको जग्गालाई प्रयोग गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको हो । आर्थिक २०८०–०८१ को बजेटमा बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माण गर्ने योजना समावेश थियो । सरकारले दोलखामा पनि फिल्म स्टुडियो निर्माण थालेको छ तर निर्माण कार्य सुस्त गतिमा छ ।

धानको विक्री मूल्य तोकियो

सरकारले किसानले बिक्री गर्ने धानको मूल्य बढाएर नयाँ न्यूनतम मूल्य तोकेको छ । २६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले कृषि र उद्योग मन्त्रालयको सिफारिसमा मोटा धानको मूल्य ३ हजार १९८ र मध्यम धानको न्यूनतम समर्थन मूल्य ३ हजार ३६२ रुपैयाँ तोकेको हो ।

नयाँ मूल्यअनुसार मोटा धान प्रतिक्विन्टलमा ३३० रुपैयाँ र मध्यम धानको मूल्य २३४ रुपैयाँले बढेको छ । गत वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकिएको थियो । आर्थिक वर्ष २०७८/७९ मा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७५२ र मध्यम धानको मूल्य प्रतिक्विन्टल २ हजार ९०२ रुपैयाँ थियो । गत वर्ष सरकारले ढिला गरी १६ कात्तिकमा धानको सर्मथन मूल्य तोकेको थियो । तत्कालीन नेकपाका नेता घनश्याम भुसाल कृषि मन्त्री भएपछि पहिलो पटक बाली लगाउनु पूर्व नै बालीको न्यूनतम सर्मथन मूल्य तोक्ने कार्यको थालनी भएको थियो ।

Comments

सम्बन्धित खवर