•  १६ कार्तिक २०८१, शुक्रबार
  •  12:23:27 PM

त्रिभुवन विमानस्थलमा विदेशबाट आउने यात्रुहरुको चेकजाँचमा कर्मचारीको लापरवाही : अब प्रहरीसहित कर्मचारी परिचालन गरिने

- असार २३, २०८० मा प्रकाशित



काठमाडौं । त्रिभुवन विमानस्थलमा अध्यामगन विभाग तथा भन्सार विभागको मात्रै चेकजाँच रहेको स्थानमा प्रहरीको चेकजाँच रहनेगरी गृहमन्त्रालयले तयारी थालेको छ। प्रहरीले विमानस्थलको सुरक्षा जाँच पास मागेको लामो समयपछि गृहमन्त्रालयले अर्थमन्त्रालय र निजामति कर्मचारीको नियन्त्रण र कार्यक्षेत्र रहेको अध्यागमन विभाग र भन्सार विभागसँग प्रहरीसहितको सुरक्षा जाँचपासबारे तयारी थालेको हो ।

‘विदेशबाट आउने यात्रुहरुको चेकजाँचमा लापारवाही देखिएको छ त्यसकारण पनि यी दुवै स्थानमा प्रहरीको उपस्थितिबारे मन्त्रालयले बहस थालेको छ, भन्सार चेकजाँचमा पनि प्रहरीको उपस्थिति रहनेगरी अर्थमन्त्रालयसँग कुराकानी गरिएको छ’, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने ।उनका अनुसार भन्सारबाट हुने कमजोरी र भन्सारकै कर्मचारी संलग्न भएर अपराधी छुट्ने अवस्थालाई रोक्न पनि प्रहरीको आवश्यकता महशुस गरिएको हो।

खासगरी ई–सिगरेट (विद्युतीय चुरोट)भित्र लुकाएर तस्करी गर्न लागिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट चोरी घटनाभएपछि मन्त्रालयले भन्सार कार्यालयको चेकजाँचमा प्रश्न उठाएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सो बारे अनुसन्धान गरिरहेको छ ।

सो सुन चोरी गर्ने मूख्य योजनाकार भन्सार एजेन्ट दिनेश बस्नेत भएको खुलिसकेको छ। विमानस्थलस्थित भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कासँग मिलेर उनले नौ किलो सुन चोरी गरी बिक्री गरेका थिए ।भन्सार एजेन्ट बस्नेत र नासु खड्कालाई पक्राउ गरेको एक महिना हुँदा पनि चोरी भएको सुन भने बरामद हुन सकेको छैन ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूसहित चारजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । तर, सुन बरामद हुन सकेको छैन भने गिरोहमा संलग्न अन्य व्यक्तिहरूसमेत फरार छन् ।

‘भन्सारका कर्मचारीले सुन बरामद गरेपछि मानिसलाई त्यतिकै छाडेको देखिन्छ तर त्यहाँ प्रहरी भएको भए त्यो मानिसलाई पक्राउ गरी अनुसन्धान हुन्थ्यो’, मन्त्रालयका एक कर्मचारीले भने ‘यो विषय निकै गम्भीर भएकाले अर्थमन्त्रालयसँग भन्सार चेकजाँचपास बारे प्रश्न गरिएको छ मन्त्रीज्यूले पनि यो विषयमा कुराकानी गरेर प्रहरीलाई पनि चेकजाँजपासमा राख्नुपर्ने भन्दै अर्थमन्त्रालयसँग कुरा गरिसक्नु भएको छ’, गृहमन्त्रालयका एक कर्मचारीले भने । यो घटना गत पुस १०मा भएको थियो ।

सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यले यो विषयमा अनुसन्धान भैरहेको धेरै कुरा बताउन नमिल्ने बताएकी छिन् । ‘यो विषयमा अनुसन्धान नै सकिएको छैन धेरै कुरा खुल्न बाँकी छ संगठित अपराध मुद्दामा हामीले पक्राउ परेका अभियुक्तविरुद्ध अनुसन्धान अघि बढाएका छौ’, एआइजी बज्राचार्यले भनिन्।

सो सुन विदेशबाट तस्करी गरी ल्याउने र चोरेर बेच्ने समूह फरक–फरक छन् । सुन बिक्री गर्ने केही पक्राउ परे पनि तस्करी गरेर ल्याउने गिरोहसम्म प्रहरी पुग्न सकेको छैन । घटना योजनाबद्ध र जटिल देखिएपछि प्रहरीले यसलाई संगठित अपराध कसुरमा पनि अनुसन्धान थालेको छ ।

त्यतिबेला के भएको थियो ?

गत १० पुसमा विमानस्थलस्थित भन्सार कार्यालयले विदेशबाट आएका एक यात्रुको दुई सुटकेस शंका लागेपछि रोकेको थियो । एक चिनियाँ नागरिकले ठूलो मात्रामा ई–सिगरेट ल्याएकामा शंका लागेर भन्सारले रोकेको थियो । एकै व्यक्तिले धेरै ई–सिटरेट ल्याएकाले त्यसमा आरसी (रिचेक) ट्याग लगाएर नियन्त्रणमा लिइएको थियो । भन्सार स्रोतका अनुसार एक्सरेको क्रममा सुनजस्तो शंकास्पद वस्तु पनि देखिएको थियो ।

त्यसरी शंकास्पद देखिएकामा सम्बन्धित व्यक्तिलाई पनि नियन्त्रणमा लिनुपर्ने हुन्छ । तर, ती सुटकेस लिएर आएका चिनियाँलाई त्यत्तिकै छाडिएपछि लामो समय सो सुटकेश भन्सारमै रह्यो । तस्करहरुले विद्युतीय चुरोट भनेर भन्सारबाट लिलाम गर्न लगाउने र नौ किलो सुन तस्करी गर्ने योजना रहेको थियो ।

स्रोतका अनुसार त्यसका लागि सेटिङ पनि मिलिसकेको थियो । लिलामीको अन्तिम तयारी हुँदा उनीहरूले सुटकेस चेक गर्दा त्यतिवेलासम्म ई–सिगरेटलाई अर्को स्थानमा पुर्याएर नयाँ कुनै इसिगरेट राखिएको थियो । सुटकेसको हेरचाह गर्ने जिम्मेवारी नासु खड्कालाई थियो । भन्सार एजेण्ट बस्नेतले नै अरू ई–सिटरेट किनेर खड्कालाई दिई साटफेर गरिएका थिए र सुन बाहिर लगिएको थियो । जसबापत खड्काले ६५ लाख रुपैयाँ लिएका थिए ।

स्रोतका अनुसार उनले करिब नौ करोड पर्ने सुन करिब ६ करोड रुपैयाँमा बिक्री गरेको खुलेको छ । यति ठूलो घट्नामा भन्सारकै कर्मचारी र भन्सार एजेण्ट संलग्न हुनुले प्रहरी अनुसन्धानको क्रममा विमानस्थलभित्र रहेको भन्सार चेकजाँचपासमा पनि प्रहरी राख्नुपर्ने आवश्यकता महशुस भएको गृहमन्त्रालयका कर्मचारीहरुले दावी गरेका छन् ।

Comments

सम्बन्धित खवर