कोशीमा नयाँ सरकार गठनको आह्वान, प्रदेश प्रमुखले दिए पाँच दिनको समय : आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय, मुख्यमन्त्रीमा उद्धव थापालाई अघि सार्ने
- असार १८, २०८० मा प्रकाशित
इटहरी । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् ।उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार गठनका लागि आह्वान गरेका हुन् । अब दलहरुले २१ असारसम्म प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ । शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए ।
आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय, मुख्यमन्त्रीमा उद्धव थापालाई अघि सार्ने
नेपाली कांग्रेसले गठबन्धनसहितका दललाई समेटेर कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । पार्टीको प्रदेश समितिका पदाधिकारीको काठमाडौंमा आइतबार बसेको बैठकले सरकारको नेतृत्व कांग्रेसभन्दा अरूलाई सुम्पिन नसक्ने निष्कर्ष निकालेको हो । प्रदेशमा बन्ने सरकारको पहिलो नेतृत्वले कांग्रेसले गर्ने निर्णय भएको कांग्रेस कोसी प्रदेशका उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए ।
‘गठबन्धनको ठूलो दल भएकाले पहिलो २ वर्ष सरकारको नेतृत्व कांग्रेसले गर्छ । कांग्रेस कोबी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने र सरकार गठन गर्ने विषयमा शीर्ष नेताहसँग पहल गरिने छ,’ उनले भने, ‘कांग्रेस २ वर्षपछि सत्ता हस्तान्तरण गर्न तयार छ । तर, सरकारको पहिलो नेतृत्व कांग्रेसले नै गर्छ ।’
प्रदेश सरकारका लागि केन्द्रका शीर्ष नेताको पहल र सुझाव आवश्यक हुने हुँदा कांग्रेसका लागि सकारात्मक सन्देश प्राप्त हुनेमा विश्वस्त रहेको उपसभापति रायमाझीको भनाइ छ । नयाँ सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेतासँग छलफल भइरहेको उनले बताए । भने, ‘राप्रपाले पनि प्रदेश सरकारमा सामेल हुने संकेत गरेको छ । राप्रपासहित सरकार बनाउन सकिन्छ । राप्रपा सरकारमा सहभागी हुन्छ भन्ने विश्वास छ ।’
गठबन्धनको ठूलो दलको हैसियतले कांग्रेसको तुलनामा अन्यको दाबी फिक्का हुने रायमाझी बताउँछन्। कांग्रेसले २ वर्ष सरकार चलाएपछि नेकपा (माओवादी केन्द्र) ले डेढ वर्ष र बाँकी समय नेकपा (एकीकृत समाजवादी) ले सरकारको नेतृत्व गर्नुपर्ने कांग्रेसको दाबी छ ।
विश्वासको मत प्राप्त गर्न नसकेपछि एमाले कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको छ । कार्कीले गत शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाउन सकेनन्। मतदान हुँदा उनका पक्षमा ४६ र विपक्षी गठबन्धनको पक्षमा ४३ मत पर्यो । ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ मत आवश्यक पर्छ ।
मतदानमा तटस्थ बस्ने निर्णयसहित विपक्षी गठबन्धनमै रहेको जनता समाजवादी पार्टी (जसपा) मतविभाजनमा अनुपस्थित रहयो। प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी (सभामुखबाहेक)का १२, राप्रपाका ६, समाजवादीका ४ र जसपाका १ जना प्रदेशसभा सदस्य छन् ।
एमाले नेतृत्वको सरकार ढलेपछि प्रदेशमा नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको छ । विपक्षी गठबन्धनमा आवद्ध दलले आलोपालो सरकार चलाउने बताउँदै आएका छन् । तर, सरकारको नेतृत्वमा माओवादीको पनि दाबी छ । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो प्रदेशमा पहिलो सरकारको नेतृत्व माओवादीले गर्ने मोटामोटी सहमति भइसकेको बताउँछन् ।
सम्बन्धित खवर
-
ताजा कार्तिक १५, २०८१गुरुङ र ढकाल एआईजीमा बढुवाका लागि सिफारिस
-
ताजा कार्तिक १५, २०८१सभापति देउवाले महामन्त्री थापालाई बनाए कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक
-
ताजा कार्तिक १५, २०८१आजकाे माैसम : उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना
-
ताजा कार्तिक १५, २०८१अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
-
ताजा कार्तिक १५, २०८१यमपञ्चकको तेस्रो दिन : कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन
Comments