•  १७ कार्तिक २०८१, शनिबार
  •  3:08:50 AM

वडाध्यक्षको नाकको डाँडी भाँचिदिने युवक पक्राउ

- असार १, २०८० मा प्रकाशित



दमक । झापा कचनकवलका गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अजमल मियालाई कुटपिट गरेर नाकको डाँडी भाँच्ने युवकलाई प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको छ । बिहीबार बिहान वडाध्यक्ष मियालाई हेलमेटले हानेर नाकको डाँडी भाँचिदिने मेचीनगर -६ का विजय पनेरुलाई प्रहरीले पक्राउ गरेर कारबाही सुरु गरेको हो ।

बिरामी छोरीको उपचारका लागि श्रीमतीसहित बिर्तामोडस्थित मनमोहन अस्पताल आएका वडाध्यक्ष मियाको गाँडीमा मोटरसाइकलमा रहेका पनेरु सामान्यरूपमा ठोक्किएपछि रिसको झोकमा वडा अध्यक्ष मियामाथि हेलमेट प्रहार गरेर घाइते बनाएको  प्रहरीको भनाइ छ ।

प्रदेश–१–०१–०१७ प ६५३७ नम्बरको मोटरसाइकलका सवार पनेरु पूर्वबाट पश्चिमतर्फ गइरहेको समयमा लडेको र उठेर हेलमेटले मियालाई कुटेको प्रत्यक्षदर्शीकाे भनाइ छ । अध्यक्ष मियाको नाकको दुवै डाँडी भाँचिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । 

वडाध्यक्षलाई कुटेर भाग्न खोजेका पनेरुलाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका थिए । आफूमाथि अभद्र व्यवहार भएको र ज्यान मार्ने उद्देश्यले कुटपिट भएको भन्दै घाइते वडाध्यक्ष मियाले प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

Comments

सम्बन्धित खवर