•  ९ मंसिर २०८१, आईतवार
  •  6:13:26 PM

गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने प्रधानमन्त्री प्रचण्डको आश्वासन

- बैशाख ७, २०८० मा प्रकाशित



 तनहुँ । बैशाख १० गते हुँदै गरेको उपनिर्वाचनमा तनहुँ-१ मा कांग्रेसबाट उम्मेदवारी दिएका गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका छन्। सत्ता गठबन्धनको तर्फबाट बुधबार तनहुँको डुम्रेबजारमा आयोजित भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले भन्न खोजेको कुरा शेरबहादुर देउवाजीले ‘उहाँ मन्त्री हुनुहुन्छ’ भन्नुभयो। म प्रधानमन्त्री छु। मन्त्री बनाउने मैले हो अहिले।’

उनले आफूले सम्बोधन गरिरहेको मञ्चतिर हेर्दै मञ्च र प्राङ्गण भाग्यमानी रहेको बताए। ‘मलाई विश्वास छ, तपाईंहरुले रामचन्द्रजीलाई जस्तै अत्यधिक मतले गोविन्द भट्टराईलाई विजय गराउनुहुनेछ’, उनले भने, ‘बाँकी काम शेरबहादुरजीले जिम्मा लिइसक्नुभयो। म शेरबहादुर देउवाजीसँगै छु।’

उनले पाँच महिनाअघिको निर्वाचनमा आफूले रामचन्द्र पौडेललाई अत्याधिक मतले जिताउनुस्, प्रधानमन्त्री बन्नुहुन्छ भनेको स्मरण गरे। ‘मैले प्रधानमन्त्रीको सम्भावनाको कुरा गरेको थिएँ। अहिले उहाँ देशकै सर्वोच्च पद राष्ट्रपतिमा निर्वाचित हुनुभयो’, उनले भने, ‘मेरो भनाइ खेर गएन। बरु मैले भनेभन्दा बढी पाउनुभयो।’

पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ-१ रिक्त भएको थियो। त्यस ठाउँमा भइरहेको उपनिर्वाचनमा कांग्रेसबाट भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले लगायत उम्मेदवार छन्। प्रधानमन्त्री प्रचण्डले मतदातालाई न्यायाधीश भन्दै उचित फैसला गर्न आग्रह गरेका थिए। ‘तपाईंहरुले उचित फैसला गर्नुस्। त्यसको व्यवस्थापन गर्ने केन्द्रको जिम्मा हामी लिन्छौं’, उनले भने।

Comments

सम्बन्धित खवर