•  ९ मंसिर २०८१, आईतवार
  •  8:43:00 PM

श्रेष्ठको बर्खास्तीपछि एसिडपीडित विन्दबासिनी सांसद बन्दै

- चैत्र ३०, २०७९ मा प्रकाशित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यसँगै सांसद पदबाट हटाएर विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय गरेको छ ।बुधबार बसेको पार्टीको बैठकपछि पत्रकार सम्मेलनमा रास्वपाका सभापति लामिछानेले श्रेष्ठलाई हटाएर कंसाकारलाई निर्वाचित गर्न निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड डिल गरेको अडिओ बाहिरिएपछि सांसद श्रेष्ठलाई रास्वपाले कार्वाही गरेको हो । श्रेष्ठले उक्त अडियो आफ्नो नरहेको दावी गर्दै आएका थिए । यद्यपी उनले त्यसबारे आफूलाई फसाउने प्रयास भएर सभापति लामिछानेको कोर टिमबारे भण्डाफोर गर्ने चेतावनी दिएको सार्वजनिक भएको थियो ।

रास्वपाको जनजाति क्लस्टरमा समानुपातिक सांसद भएका श्रेष्ठ हटेपछि मेघबहादुर आले र विन्दवासिनी कंसाकार मुख्य दावेदार थिए । आदिवासी–जनजाति क्लस्टरको पुरुषतर्फ आले र महिलातर्फ कंसाकारमध्ये एकलाई सांसद चयन गर्ने अवस्था रास्वपामा थियो । समानुपातिक सुचीमा पुरुषतर्फ मेघबहादुरको नाम ढाकापछि थियो भने महिलातर्फ भने इन्दिरा रानामगर र सुमना श्रेष्ठपछि कंसाकारको नाम थियो ।

रास्वपाले महिलालाई प्राथमिकता दिँदै कंसाकारलाई चयन गरेको हो । अब दलले पत्राचार गरेपछि आयोगले सांसद निर्वाचित भएको प्रक्रिया अघि बढाउनेछ ।सांसदमा सिफारिस भएकी मकवानपुरकी विन्दवासिनी एसिड पीडितहरुको न्यायका लागि लडिरहेकी अभियन्ता हुन् । उनी आफैं पनि एसिड पीडित हुन् ।

हेटौंडा निवासी विन्दवासिनीलाई २०७० सालमा एसिड आक्रमण भएको थियो । आफ्नै परिवारको भाँडा पसलमा बसिरहेका बेला भारतीय नागरिकले उनलाई एसिड छ्यापेका थिए । प्रेम प्रस्ताव अस्वीकार गर्दा उनीमाथि आक्रमण भएको थियो ।एसिड प्रहारबाट विन्दवासिनीको अनुहारमा निकै क्षति पुगेकोले उनले २० पटक अनुहारको शल्यक्रिया गराइसकेकी छन् ।

Comments

सम्बन्धित खवर