•  ७ मंसिर २०८१, शुक्रबार
  •  12:47:31 PM

बीमा रकम भुक्तानी नहुँदा ताप्लेजुङमा ल्याब सेवा प्रभावित

- माघ २७, २०७९ मा प्रकाशित



ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङमा समयमै स्वास्थ्य बीमाबापतको रकम भुक्तानी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्य बीमा बोर्डबाट समयमै बीमादाबी भुक्तानी नगर्दा औषधि तथा अन्य आवश्यक सामग्री खरिद गर्न मुश्किल भएको छ ।

स्वास्थ्य बीमाबापतको रु ५६ लाखभन्दा बढी पाउन बाँकी हुँदा जिल्ला अस्पतालको ल्याब तथा फार्मेसी सेवा नै बन्द हुने अवस्थामा पुगेको अस्पताल सञ्चालन समितिका सदस्य सुवास आचार्यले जानकारी दिए । स्वास्थ्य बीमा बोर्डबाट अस्पताल सञ्चालन समितिले पाउनु पर्ने रकम समयमै नपाए अस्पतालले सञ्चालन गरिरहेको फार्मेसी र ल्याब सेवा बन्द हुने उनी बताउँछन् । जिल्ला करारमा जनशक्ति व्यवस्थापन गरेर फार्मेसी र ल्याब सेवा समिति आफैले सञ्चालन गरिरहेको छ ।

जिल्ला अस्पतालका निमित्त प्रमुख विजया राईका अनुसार बीमाबापत अस्पतालले रु ५६ लाख ७८ हजार पाउन बाँकी छ । आर्थिक वर्ष २०७८-७९ मा रु ४३ लाख ४५ हजार मागदाबी गरिएकामा रु पाँच लाख ४५ हजार भुक्तानी भएको छ । चालु आव २०७९-७९ को मागदाबी गरिएमध्येको कत्ति पनि रकम भुक्तानी नभएको अस्पतालले जनाएको छ । राईका अनुसार चालु आवको पुस मसान्तसम्मको रु १८ लाख ७७ हजार स्वास्थ्य बीमाबापतको रकम अस्पताल सञ्चालन समितिले पाउन बाँकी छ ।

समयमै बीमाबापतको रकम भुक्तानी नभएमा स्वास्थ्य बीमा सेवा बन्द गर्ने अवस्थामा पुगेको राईले बताए । उनले भने, ‘स्वास्थ्य बीमा बोर्डले चाँडै भुक्तानी दिने आश्वासन दिएको छ । समयमै भुक्तानी नभए स्वास्थ्य सेवा प्रभावित हुन्छ ।’

Comments

सम्बन्धित खवर