प्रदेश एक : अनुशासन पालना गर्दैनन् सांसद
- माघ २६, २०७९ मा प्रकाशित
विराटनगर ।प्रदेश १ प्रदेशसभाको दोस्रो कार्यकालको सुरुआत विजनेस अभावमा उत्साहजनक नरहेकै बेला संसद्भित्र सदस्यहरु नै अभोभनीय गतिविधि गरिरहेका देखिन्छन् । गत मंसिरमा भएको निर्वाचनबाट दोस्रो कार्यकालमा १३ सांसद दोहोरिएका छन् । केही सांसद भने संघीय संसदको अनुभव बटुलेर प्रदेशमा फर्किएकाहरू छन् ।
इन्द्रमणि पराजुली, खिनु लङ्वा लिम्बू, राजेन्द्रकुमार राई, हिक्मत कार्की, केदार कार्की, नारायणबहादुर मगर, लीलावल्लभ अधिकारी, निरन राई, बुद्धिकुमार राजभण्डारी, इन्द्रबहादुर आङ्वो, हिमाल कार्कीलगायतका सांसद दोहोरिएका हुन् ।एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी, कांग्रेसका अमृत अर्याल संघीय संसदमा समेत प्रतिनिधित्व गरिसकेका हुन् । उनीहरू पनि यसपटक प्रदेशसभामा छन् । उनीहरू संविधान सभामा सदस्य भएका थिए ।
संघीय संसदम समेत प्रतिनिधित्व गरिसकेका सांसद रहेको प्रदेशसभाको गतिविधि र माहोल भने बाहिर हुने कार्यक्रम जत्तिको पनि मर्यादित हुँदैन । एनजीओ तथा आईएनजीओले होटलहरूमा गर्ने कार्यक्रमजत्तिको अनुशासन पनि संसदमा नदेखिएको संसद् सचिवालयका कर्मचारीको गुनासो छ ।
हालसम्मको सात वटा बैठकमा सांसदहरूले संसद्भित्रै सुर्ती सेवन गर्नेदेखि फोन उठाउनेसम्म गतिविधि गरेका छन् । कानून निर्माताहरूले नै कानूनको धज्जी उडाएका छन् । ‘कुनै संघ–संस्थाले होटलमा चलाउने कार्यक्रमजत्तिको अनुशासन पनि छैन,’ प्रदेशसभा सचिवालयका एक कर्मचारीले भने, ‘माननीयहरूलाई हामीले भन्न पनि मिलेन, उहाँहरू आफैंले बुझ्नुपर्ने हो ।’
प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले पनि संसद् मर्यादित भएन भनेर बाहिर कुरा उठ्न थालेको स्वीकारे । यसबारे आफूले दलका प्रतिनिधि र सांसदहरूलाई ध्यानाकर्षण गराएको उनको भनाइ छ । संसद् चलिरहेका बेला नै संसद् भवनमा धूमपान गर्ने, खैनी खाने, पान खाने तथा फोनमा बोल्ने जस्ता गतिविधि भइरहेका छन् । सरकार सत्ता पक्षको र संसद् प्रतिपक्षको भन्ने गरिन्छ, तर प्रतिपक्षले बोलेको बेलामा सत्तापक्षले नसुन्ने, सत्तापक्षले बोलेका बेला प्रतिपक्षले ध्यान नदिने गरेको पाइएको छ ।
सांसदलाई मर्यादित बनाउनका लागि सांसदहरूलाई संसदीय अभ्यासबारे सिकाउने तयारी भएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । तर, उनी आफैंले संसद् भवनभित्र खैनी माडेर खाने गरेको आरोप लाग्दै आएको छ । प्रदेशसभाको पहिलो कार्यकाल नामकरण समेत नगरी सकियो । पहिलो कार्यकालमा सांसदहरू आफ्नो जिम्मेवारी पूरा गर्न समेत असफल रहे ।
दोस्रो कार्यकालमा पनि शुरूआत अपेक्षित ढंगको छैन । संसद् भनेको कानून निर्माण गर्ने थलो हो । तर, पछिल्लो समय प्रदेशसभा जुहारी खेल्ने थलो मात्र भएजस्तो प्रतीत हुन थालेको छ । सांसद अनुशासित हुनुपर्नेमा त्यस्तो नदेखिएको पूर्व सांसद हर्कमान तामाङ बताउँछन् ।‘प्रदेशसभामा मात्रै नभई प्रतिनिधिसभामा पनि पहिलाको र अहिलेको संसद् आकाश पाताल फरक छ,’ उनले भने, ‘पहिला खासखुसबाहेक कुनै पनि असभ्य गतिविधि हुँदैनथ्यो । गफगाफ गर्नुपरे लबीमा गएर गरिन्थ्यो ।’ पहिलाका सांसदहरू गम्भीर भएर संसदमा कुरा उठाउँथे अहिले भने प्रचार गर्ने गरी मात्रै कुरा उठाउने गरेको उनको बुझाइ छ ।
‘पहिला जुन गम्भीरता थियो, अहिले त्यो छैन । पहिला सांसदहरूले उठाएका कुरा सरकारले सुन्ने र कार्यान्वयन समेत हुने गरेको थियो । तर अहिले सरकारले सांसदका कुरा नै सुन्दैनन् । प्रतिपक्षी दलका सांसदहरूले उठाएका कुरा सरकारले सिरियस भएर सुन्थ्यो अहिले प्रतिपक्षी दलका सांसदले बोल्दा सरकारका मन्त्रीहरू हाई काढेर उडाइदिन्छन्,’ उनले भने । प्रदेशसभा सांसदको ध्यान सत्ताकै खेलमा बढी देखिन्छ । पहिलो कार्यकालमा प्रदेशसभाले ३ वटा सरकार बनाएको थियो । सांसदहरूको ध्यान सरकार ढाल्ने र बनाउने काममा बढी थियो ।
संसदमा के बोल्ने भन्ने पनि तयारी नगरी सांसदहरू आउने गरेका छन् । संसद् बैठकमा बोल्ने क्रममा एकीकृत समाजवादीकी सांसद विद्या चाम्लिङले कविता पढ्न थालिन् । आफूले कविता पढ्न थालेको थाहा पाएपछि उनी बीचमै रोकिइन् । त्यस्तै एमालेका पाँचकर्ण राईले पनि प्रदेशको प्रमुख प्रतिपक्षी र प्रतिपक्षी सांसदहरूको उछित्तो काड्ने गरी मानमर्दन गरे । उनीहरू दुवैजना नयाँ सांसद हुन् । संसद् मर्यादित र परिपक्व हुनुपर्नेमा त्यस्तो देखिएको छैन ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments