•  ९ मंसिर २०८१, आईतवार
  •  9:31:10 PM

उर्लावारीमा सर्वसाधारणको बाह्र करोड ५० लाख रुपैयाँ लिएर सुन व्यवसायी फरार

- माघ ४, २०७९ मा प्रकाशित



इटहरी । मोरङ उर्लाबारी ५ तरुण चोकका सुन पसल संचालक ४९ वर्षीय राजेश भनिने गोपाल गौतम सर्वसाधरणको १२ करोड ५० लाख रुपैयाँ भन्दा बढी रकम लिएर फरार भएका छन् । उर्लाबारी क्षेत्रका ३३६ जना सर्वसाधरणले बचत गरेको साढे १२ करोड रुपैयाँ भन्दा बढी रकम लिएर गौतम फरार भएका हुन् ।

सुन पसले बेपत्ता भएपछि उर्लाबारीबाट बस रिजर्भ गरी मंगलबार पीडित सर्वसाधारण जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिन आएका थिए । उनीहरुले सर्वसाधारणको रकम ठगी गर्ने गौतमलाई पक्राउ गरी कारवाही गर्न र सर्वसाधरणको सम्पत्ति फिर्ता गराइदिन माग गरिरहेका थिए । उनीहरूले मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल र मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालालाई भेटर फरार भएका गौतमलाई पक्राउ गरी कानुनी कारवाहीको दायारमा ल्याउन आग्रह गरे ।

उर्लाबारी – ६ डिबी मार्गमा गौतम सुनचाँदी पसल संचालन गर्दै आएका राजेशले आकर्षक ब्याज दिने प्रोलभनमा पारी सर्वसाधरणले ब्याजमा लगाएको १२ करोड ६६ लाख रुपैयाँ लिएर तीन वर्षदेखि फरार छन् । वर्षौ बितिसक्दा पनि आरोपी पक्राउ नपरेको कारणले गौतमलाई पक्राउ गरी कानुनी कारवाही र बचतकर्ताहरुले जम्मा गरेको रकम फिर्ताको माग राख्दै प्रशासन कार्यालयमा धर्ना दिन आउनुपरेको पीडित उर्लाबारीका पदम भण्डारीले बताए । ‘खाइनखाइ दुःख गरेर आर्जेको रकम सुनचाँदी पसलमा उर्लाबारीका सर्वसाधरणहरुले आकर्षक ब्याज पाउने लोभमा राखिदिए । करडौं रूपैयाँ जम्मा भएपछि संचालक गौतम फरार भएको तीन वर्ष भइसक्यो । यसबीचमा हामीले न्यायको लागि जनप्रतिनिधिदेखि प्रशासन कार्यालयसम्म धाएको वर्षौ भइसक्यो,’ जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएर बसेका पीडित भण्डारीले भने, ‘अहिलेसम्म आरोपी पक्राउ परेका छ्रैनन् । हामीले बचत गरेको पैसा पाउने अहिलेसम्म टुंगो लागेकै छैन ।’

सुनचाँदीको कारोबार गर्ने अनुमित लिएर गौतमलले गैरकानुनी बैंकिङ कारोबारको घटना बाहिर आएको वर्षौ भइसक्दा पनि आरोपीलाई पक्राउमा प्रसानले चासो नदेखाएको उनीहरुको भनाइ छ । ‘अवैध रूपमा बैंकिङ कारोवार गरी सर्वसाधरणको करडौं रुपैयाँ संकलन गरेर फरार भएका गौतमलाई प्रहरीले पक्राउ गर्न चासो देखाएको छैन,’ उनले भने, ‘आरोपीलाई प्रहरीले खोजी गरे पक्राउ पर्ने थिए । तर, यहाँ चासो दिएको पाइएन ।’

गौतमको सुनचाँदी पसलमा एक लाख रुपैयाँदेखि २० लाख रुपैयाँसम्म ब्याजमा लगानी गरेका सर्वसाधरणहरु छन् । उनीहरूले गौतमको पसलमा पैसा जम्मा गरेपछि पासबुक दिने गरेका थिए । तीन सयभन्द बढीले ब्याजमा लगाएको रकम लिएर गौतम फरार भएपछि पीडितहरू जम्मा गरेको पैसा फिर्ता गराउन जनप्रतिनिधिदेखि स्थानीय प्रशासनसम्म हारगुहार गरेका छन् ।

सुनसरीको इटहरी र मोरङको विराटनगर, उर्लाबारी, पथरीलगायतको क्षेत्रमा अधिकांश सुन पसलले गैह्रकानुनी रुपमा बैकिङ कारोबार गर्दै आएको र त्यसबाट सयौं सर्वधारण ठगीमा परिरहेको जानकारहरु बताउँछन् । प्रायः सबै सुन पसलहरूले व्यक्तिगत पासबुक नै छापेर कारोबार गर्दै आएका छन् । एक–दुई छाडेर प्रायः सबै सुन पसलले यस्तो धन्दा चलाउँदै आएको एक सुनचाँदी व्यवसायीले जानकारी दिए । ठूला सुन पसलले करोडौंको कारोबार गर्ने गरेका छन् । उनीहरुले बचतकर्तालाई पासबुकनै दिने गरेका छन् । तर कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति भने लिएका हुँदैनन् ।

केही समयअघि नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरो सीआइबीले अनुमति नै नलिइ बैंकिङ कारोबार गरेको विभिन्न इन्भेष्टमेन्ट कम्पनी, सुन पसल, फेन्सी पसलमा छापा मारेपछि इटहरीका सुन पसल सञ्चालकहरूको पनि भागाभाग भएको थियो । केही समय कारोबार बन्द गरेपनि अहिले भने पुनः कारोबार सञ्चालन हुन थालेका छन् ।मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले पीडितहरुलाई रितपूर्वक जाहेर दिन जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएको जानकारी दिए । ‘ठगीएका पीडितहरु आएका थिए,’ उनले भने, ‘मैलै प्रहरीमा गएर उजुरी दिन भनेको छु । जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गरी दोषीलाई कारबाहीको दायारामा ल्याउनेछ ।’

मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले स्वीकृति नलिकन सुन पसलहरुले बचत कारोबार गर्नु गैरकानुनी भएकोले यस्ता पसल कारवाहीको दायरमा आउने बताए । ‘राष्ट्रिय बैंकबाट सुनचाँदी व्यापारीले बचत संकलन गर्नु तथा ऋण दिनु गैह्रकानुनी हो,’ उनले भने, ‘यस्तो भेटिए कानुनी दायरमा आउनेछन् ।’ प्रशासनले सर्वसाधरणहरुलाई कानुनी मान्यता पाएको बैंक सहकारीहरुबाट मात्र कारोबार गर्न आग्रह गरेका छन् ।

बैंक भन्दा व्यवसायीले छिटो र सहज रूपमा ऋण दिने र धितोको मूल्यांकन पनि बढी गर्ने भएकाले सर्वसाधारण यतातर्फ आकर्षित भएका हुन् । बैंकले धितो मूल्यांकन गरेर मात्र ऋण दिने, लामो प्रक्रिया, बिललगायतका कागजात खोज्ने भएकाले पसलबाट ऋण लिएको सर्वसाधारण बताउँछन् । बचत गरेको रकम महँगो ब्याजमा सर्वसाधारणबाट पैसा उठाउने र धितोमा ऋण समेत दिने गरेका थिए । पैसा फिर्ता गर्न नसकेपछि उनी फरार भए अनि सर्वसाधारण बिचल्लीमा परे ।

Comments

सम्बन्धित खवर