तरहराकाे कामधेनू सहकारीमा लफडा : सञ्चालक समितिको राजीनामा माग : साधारणसभा स्थगित
- पुष ३०, २०७९ मा प्रकाशित
इटहरी । अन्तिम समयमा आएर निर्वाचन प्रक्रिया रद्द भएपछि सुनसरीको तरहरास्थित कामधेनु दुग्ध सहकारी संस्थामा विवाद भएको छ । ६ वटा जिल्लालाई समेटेर दुग्ध उत्पादन गर्दै आएको सहकारीको पुस ३० गते २३ औँ साधारणसभाबाट नयाँ नेतृत्व चुनिने तयारी रहेको थियो । २९ गतेसम्म उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन भइसकेको अवस्थामा ३० गते शनिबार निर्वाचननै रद्द हुन पुगेपछि भेला भएका शेयर सदस्यहरूले हालको सञ्चालक समितिको राजीनामा मागेका छन् ।
निर्वाचन प्रक्रिया स्थगित भएपछि ६ वटा जिल्लाबाट भेला भएका ४ सय बढी शेयर सदस्यहरूले सहकारी भवन अगाडि विरोध जनाउँदै हालको सञ्चालक समितिले तत्काल राजीनामा दिनुपर्ने माग राखे । सहकारीमा सुनसरी, मोरङ, तेह्रथुम, धनकुटा, काठमाडौं लगायतबाट ४ सय बढी शेयर सदस्यहरूको उपस्थिति रहेको थियो । सहमतिको प्रयास असफल भएपछि निर्वाचन प्रक्रियामा गएको सहकारीको अध्यक्ष पदमा तरहराका टिका दत्त बन, इटहरीका कृष्ण अधिकारी र मोरङ ग्रामथानका यादव ढकालले उम्मेद्वारी दिएका थिए ।
सहमतिको बाटो बन्द भएपछि बनले उम्मेद्वारी फिर्ता लिएपनि अधिकारीले चुनावी प्रतिस्पर्धामा जाने निर्णयसँगै सोहि अनुरूप कार्यक्रम तय गरिएको थियो । निर्वाचनमा ढकाल पक्षको जीत निश्चित देखिएपछि अधिकारी आफैँले सहकारी रजिष्टारको कार्यालयमा उजुरी दर्ता गराइ निर्वाचन प्रक्रिया नै विथोलेका थिए । अधिकारीले सञ्चालक समितिको विभिन्न पदमा उम्मेद्वारी दिएका व्यक्तिहरु सहकारीभित्र खराब ऋणी रहेको र विवादित रहेका देखाउँदै रजिष्टार कार्यालयमा शुक्रबार साझ उजुरी दिएका थिए ।
सोही उजुरीलाई मध्येनजर गर्दै विवाद साम्य बनाइ साधारणसभा गर्न तर निर्वाचन प्रक्रिया रोक्न कार्यालयले पत्राचार गरेपछि शनिबार हुने भनिएको निर्वाचन स्थगित हुन पुगेको थियो । अन्तिम समयमा आएर अधिकारीले चालेको कदमबारे शेयर सदस्यहरूले खुलेरै विरोध जनाएका थिए । अधिकारी यसअघि पनि ३ कार्यकाल कामधेनु सहकारीमा अध्यक्ष बनिसकेका पात्र हुन् भने हाल सल्लाहाकार रहेका छन् । यो पटक पनि अध्यक्ष बन्ने उनको योजनामा ढकाल बाधक बनेपछि उनलाई हटाउन यस्तो प्रपञ्च चालेको शेयर सदस्यहरूको आरोप छ ।
सञ्चालक समितिको विभिन्न पदमा उम्मेद्वारी दिएका व्यक्तिहरू सहकारीको खराब ऋणीको सूचीमा रहेको र विवादित रहेको कारण छानविनको माग गर्दै रजिष्टार कार्यालयमा उजुरी दिएको अधिकारीको भनाइ छ । तर निर्वाचनको सबै तयारी सकिएर प्रक्रियागत कार्यक्रम अघि बढ्नै लाग्दा एक्कासी रोकिनु सहकारी सञ्चालक समितिको नियत नै खराब देखिएको प्रमुख निर्वाचन अधिकृत कपिलमणी दाहालले बताए ।
निर्वाचन प्रक्रियामा जाँदा हार निश्चित भएपछि अधिकारीले जीत आफ्नो पक्षमा पार्न र शेयर सदस्यहरुलाई प्रभावित बनाउन यस्तो षड्यन्त्र रचेको सहकारी संस्थामा अध्यक्ष पदका उम्मेद्वार यादव ढकालको भनाइ छ । कार्यक्रम भव्य र सव्य हुने विश्वासका साथ तेह्रथुम छथर जोरपाटेबाट आएका शेयर सदस्य उमानाथ पौडेल साधारण सभा स्थगित भएको सूचना पाउनासाथ आक्रोशित बनेका थिए । उनी जस्तै ४० भन्दा बढी सदस्यहरू छतरजोरपाटेबाट सहकारीको कार्यक्रममा सहभागी हुन आएका थिए ।
सहकारी भवनको प्राङ्गणमा भेला भएका शेयर सदस्यहरूलाई फकाउन सञ्चालक समितिका सदस्यहरूले अनेकौं प्रयास गरेपनि भिड अनियन्त्रित हुन पुगेको थियो । विवाद साम्य बनाउन शेयर सदस्यहरूलाई सञ्चालक समितिले पटक–पटक आग्रह गर्दा नमानेपछि अन्ततः साधारण सभा नै स्थकित गर्नुपरेको थियो । सञ्चालक समितिका अध्यक्षदेखि साधारण सदस्य सबैले आ–आफ्नो जिम्मेवारीबाट तत्काल राजीनामा दिनुपर्ने शेयर सदस्यहरूले अडान राखेपछि अन्त्यमा सबै कार्यक्रमहरू स्थगित गर्नुपरेको थियो ।
भव्य र सभ्य कार्यक्रम आयोजना हुने विश्वासकासाथ भेला भएका शेयर सदस्यहरूलाई सहकारीले निराश बनाएपछि आक्रोशित बनेको भिड नियन्त्रण गर्न प्रहरी समेत बोलाइएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका प्रतिनिधि सभाका पूर्व सदस्य तथा सोहि सहकारीका सल्लाहाकार घनश्याम खतिवडाले सबै दृश्य अवलोकन गरिसकेपछि बेग्लै नाम कमाएको कामधेनु इतिहासमै बदनाम हुँदै गएको धारणा राख्न बाध्य बनेका थिए ।
यता कार्यक्रम सभापति तथा कामधेनु दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष बाबुराम खत्रीले नचाहँदा नचाहँदै सबै कार्यक्रम स्थगित गर्नुपर्दा दुःखी तुल्याएको र आगामी एक महिना भित्रमा सामधान टुंग्याएर साधारणसभा र निर्वाचन दुवै गर्ने घोषणा गरे ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments