•  १० मंसिर २०८१, सोमबार
  •  9:37:24 AM

प्रतिनिधिसभाको पहिलो बैठक बस्दै, दलका शीर्ष नेताले सम्बोधन गर्ने

- पुष २५, २०७९ मा प्रकाशित



काठमाडौं । प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठक आज (सोमबार) बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो १ बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । गएको निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभा सदस्यको पहिलो बैठक बस्न लागेको हो ।

आजको बैठकको शुरुवातमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । त्यसपछि राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाइने सम्भावित कार्यसूची छ ।

यस्तै, ज्येष्ठ सदस्यले सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सांसदहरूको मनोनयन गर्नेछन् । अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा शीर्ष नेताहरूले मन्तव्य राख्ने छन् । केही शोक प्रस्ताव समेत प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । नयाँ सभामुख निर्वाचित नहुञ्जेल ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बैठक सञ्चालन गर्नेछन् ।

प्रतिनिधिसभामा १२ दलका नेताको सम्बोधन

प्रतिनिधिसभाको आजको बैठकमा सभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका नेताले शुभकामना मन्तव्य दिनेछन् । बैठकको प्रारम्भमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सदस्यहरुलाई स्वागत गर्नेछन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभामा १२ राजनीतिक दल र पाँच स्वतन्त्र सांसदका प्रतिनिधित्व रहेको छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेस ८९, नेकपा (एमाले)का ७८, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा (एकीकृत समाजवादी) का १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक तथा स्वतन्त्र पाँच सांसद् छन् । प्रतिनिधिसभा बैठक हाल कायम प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार सञ्चालन हुनेछ । बैठकले नियमावली, २०७५ लाई अनुमोदनसमेत गर्नेछ ।

आजको बैठकबाट ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि नियमावलीअनुसार सात जनालाई चयन गरिनेछ । सांसद सदस्य संख्याका आधारमा कांग्रेस र एमालेबाट दुई÷दुई र बाँकी अन्य दलबाट प्रतिनिधित्व हुनेछ । आजको बैठकमा ज्येष्ठ सदस्य जबराले यही पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रस्तावबारे जानकारी गराउनेछन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल यही पुस १० गते एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपालको संविधानको धारा ७६ को उपधारा (२) अनुसार नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । नेपालको संविधानअनुसार निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको ३० प्रतिनिधिसभाको बैठक बस्ने प्रावधान छ ।

यसैगरी पहिलो प्रारम्भ भएको दिनदेखि १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्नेछ । सभामुखको निर्वाचन सम्पन्न नभइसकेका कारणले हाल प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बैठक सञ्चालन गर्नेछन् । उनले यसअघि यही पुस ७ गते नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

Comments

सम्बन्धित खवर