•  १० मंसिर २०८१, सोमबार
  •  6:28:05 PM

निहारिका प्रकरण : डिएनए परीक्षण गर्न उच्च अदालतको आदेश

- भाद्र ९, २०७९ मा प्रकाशित



जनकपुर । आफूमाथि बलात्कार भएको दाबी गर्दै त्यसबाट जन्मिएको बच्चाको डिएनए परीक्षणको माग गरिरहेकी निहारिका राजपूतको मागअनुसार नै उच्च अदालत जनकपुरले आदेश दिएको छ । उच्चले आरोपित र शिशुको डीएनए परीक्षण गर्न आदेश दिएको छ । न्यायाधीशहरु भोजराज अधिकारी र रेखा थापा पाण्डेको इजलासले यस्तो आदेश दिएको हो । 

अब राजपूतको शिशु र बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठको डीएनए परिक्षण गरिनेछ । आदेशमा श्रेष्ठ र पीडितका छोरालाई उच्च सरकारी वकिल कार्यालय, जनकपुरमार्फत राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा पठाई बच्चाको आमा र पीडितको रोहबरमा डीएनए परीक्षण गराई परीक्षण प्रतिवेदन प्राप्त भएपछि पेश गर्न भनिएको छ ।

श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय धनुषाले अभद्र व्यवहार गरेको आरोपमा हिरासतमा राखेको छ । र उनले डीएनए परीक्षण गर्न आफू तयार रहेको बताएका छन् ।आफ्नो शिशु र आरोपित श्रेष्ठको डीएनए परीक्षण हुनुपर्ने माग राखी राजपुत अनशन बसेकी थिइन् । माग सम्बोधन हुने आश्वासनपछि उनले अनशन तोडेकी हुन् ।

जिल्ला अदालत धनुषाले बलात्कार मुद्दाका आरोपित श्रेष्ठलाई सफाइ दिएको थियो । सफाइ दिने न्यायाधीश पर्शुराम भट्टराई छानबिनका क्रममा सर्वोच्च अदालतमा तानिएका छन् ।जिल्ला अदालतको फैसला विरुद्ध सरकारी वकिल उच्च अदालत जनकपुरमा गएको थियो । त्यही मुद्दा सुनुवाइका क्रममा उच्च अदालतले डीएनए परीक्षणको आदेश दिएको हो ।

Comments

सम्बन्धित खवर