•  १० मंसिर २०८१, सोमबार
  •  6:21:03 PM

बिराटनगरकाे तृष्णा रेष्टुरेन्टभित्र मध्यरातमा कुटाकुट : अनुमती नै नलिइ कन्सर्ट गरेकाे खुलाशा

- भाद्र ९, २०७९ मा प्रकाशित



विराटनगर । विराटनगर महानगरपालिका–४ एयरपोर्ट मोडमा रहेको तृष्णा रेष्टुरेन्टमा बुधबार मध्यराति लफडा भएको छ । रेष्टुरेन्टले गायक सुशान्त केसीलाई बोलाएर आयोजना गरेको ‘कन्सर्ट’ (साङ्गीतिक कार्यक्रम)मा राति ११ः३० बजेतिर लफडा भएको हो । तर स्थानीय प्रशासनसँग अनुमति नलिइकन ‘कन्सर्ट’को आयोजना गरेको पाइएको छ । उक्त रेष्टुरेन्टका सञ्चालक अमन साह हुन् । 

मदिराको नशामा रहेका केही युवाले ‘कन्सर्ट’ बिथोल्ने गरी हर्कत गरेपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मदिराको नशामा रहेका विराटनगर महानगरपालिका–१० का २२ वर्षीय सुजन चौधरीलगायत युवाहरुले ‘कन्सर्ट’ चलिरहेका बेला बादविवाद गर्न थालेको पाइएको छ । त्यस क्रममा युवाहरुलाई रेष्टुरेन्टका कर्मचारीले सम्झाईबुझाई गरेका थिए ।

नमानेपछि रेष्टुरेन्टमा कार्यरत बाउन्सरले कुटपिट गर्दै बाहिर निकाल्न खोजे । त्यस क्रममा सुजन घाइते भएका छन् । टाउकोमा चोट लागेका सुजनलाई विराटनगरको विराट नर्सिङ होम एवम् विराटनगर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । प्रहरीका अनुसार टाउकोमा तीन टाँका लगाइएका उनको अवस्था सामान्य नै छ । 

रेष्टुरेन्टमा लफडा हुन थालेपछि विराटनगरका उद्योगसमेत रहेका सुजनका बुवा सन्तोषकुमार चौधरी बाहिरबाट २०/२२ जना व्यक्तिहरुलाई लिएर घटनास्थलमा पुगेका थिए । सन्तोषको नेतृत्वमा मध्यरातमा पुगेको समूहले रेष्टुरेन्टमा तोडफोडको प्रयाससमेत गरेको प्रहरीले जनाएको छ । ४५ वर्षीय सन्तोष पानी राख्ने ट्याङ्की उत्पादन गर्ने जानकी पोलिट्याङ्कका सञ्चालक हुन् । 

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले घटनापछि सन्तोषसहित रेष्टुरेन्टका बाउन्सर भारत फारबेसगन्जका ३१ वर्षीय श्रवण अली र सुरक्षा गार्ड सुनसरीको इटहरी उपमहानगरपालिका–३ का ३३ वर्षीय सुमन चौधरीलाई पक्राउ गरिएको जानकारी दिए । ‘बाहिरबाट युवाहरु लगेर रेष्टुरेन्टमा तोडफोडको प्रयास गरेको पाइएपछि सन्तोषलाई नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘कुटपिटमा संलग्न रेष्टुरेन्टका बाउन्सर र सुरक्षा गार्डलाई पनि पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाइएको छ ।’ 

एसपी कोइरालाका अनुसार लफडाका क्रममा प्रदेश १–००१ च ७५७१ नम्बरको कार पनि तोडफोड गरिएको छ । तोडफोडबाट कारको अगाडिको सिसा फुटेको र साइडको भाग कुच्चिएको उनले बताए । स्थानीय प्रशासनले विराटनगरका होटल तथा रेष्टुरेन्टहरु राति १० बजेपछि बन्द गर्नुपर्ने नियम बनाएको छ ।

तर मध्यरातसम्म ‘कन्सर्ट’को आयोजना गरेको रेष्टुरेन्टले भने प्रशासनसँग अनुमति नलिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनका अनुसार होटल तथा रेष्टुरेन्टलगायतका कुनै पनि ठाउँमा भीडभाड हुने गरी कार्यक्रम गर्नुपर्ने भएमा प्रशासनसँग लिखित अनुमति लिनुपर्ने हुन्छ । 

आयोजकले अनुमति लिएपछि स्थानीय प्रशासनले कार्यक्रममा सुरक्षाको व्यवस्था मिलाउने प्रजिअ दाहालको भनाइ छ । ‘तृष्णा रेष्टुरेन्टले अनुमति नलिइकन आफूखुसी ‘कन्सर्ट’को आयोजना गरेको रहेछ,’ उनले भने, ‘त्यसो गर्नु नियमविपरीत हो ।’ बिना अनुमति ‘कन्सर्ट’को आयोजना गरेको रेष्टुरेन्टका सञ्चालक साहलाई भने प्रहरीले पक्राउ गरेको छैन । घटनाका बारेमा थप विषय खुलेपछि अरुलाई पनि नियन्त्रणमा लिएर कारबाही अघि बढाउने तयारी रहेको प्रहरीले जनाएको छ । 

Comments

सम्बन्धित खवर