•  १० मंसिर २०८१, सोमबार
  •  9:36:48 PM

७ वर्षमा पनि बनेन झोलुङ्गे पुल : पैसा तिरेर नदि तर्न बाध्य स्थानीय

- श्रावण २४, २०७९ मा प्रकाशित



झापा । कचनकवल गाउँपालिका–५ पाठामारी निवासी पवन राजवंशी प्रायःजसो भारतीय बजार जान्छन् । बर्खा होस् वा हिउँद जस्तोसुकै मौसमले पनि पवनलाई छेक्दैन । उनी मेची नदी तैरिएर आफ्नै साइकल चढेर पसलका लागि सरसामान खरिद गर्न भारतीय बजार पुग्छन् । पवन जस्तै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने अधिकांश नेपाली उपभोक्ता दुई पैसा सस्तोका लागि किनमेलका लागि पारि नै धाउँछन् ।

नेपाल–भारत सीमा छुट्याउने पाठामारी नाकाबाट मेची नदी बग्छ । त्यहाँका जनता बर्खामा डुङ्गा (नाउ)को जोखिम पूर्ण यात्रा र हिउँदमा बाँसे पुल प्रयोग गर्न बाध्य छन् । पाठामारी–धोबीभिट्टा नाकाबाट आउ–जाउमा सहज होस् भन्दै स्थानीयको माग अनुसार सरकारले २०७२ सालमा मेची नदीमा झोलुङ्गे पुल बनाउने योजना अघि सा¥यो । ठेक्का पनि लाग्यो । तामझामका साथ शिलान्यास पनि गरियो । ठेक्का लागेको ७ वर्ष बित्न लाग्दा समेत मेची नदीको झोलुङ्गे पुल अझै बन्न सकेको छैन ।

‘नदीमा पुल बन्छ भन्दाभन्दै ७ वर्ष बित्यो, अरू कति वर्ष बित्ने हो सरकारलाई नै थाहा छ– स्थानीय व्यवसायी समेत रहेका पवनले भने– ‘दुई वटा पिलर खडा गरी त्यतिकै छाडेर अहिले निर्माण कम्पनी बेपत्ता छ । नेताहरूप्रति आक्रोश पोख्दै स्थानीय साकिर मियाँले भने– ‘के हेर्दैछन् यहाँका नेता, जनप्रतिनिधि र स्थानीय प्रशासन ? पाठामारीबासीको समस्या ज्युँका त्युँ छ, नदीमा एउटा पुल बनाउन खोज्यो त्यो पनि अलपत्र बनाएर छाडिदियो ।

यहाँका जनता पनि नेपाली नागरिक नै हुन् भनेर सरकारले कहिले हेरेन । ‘पुल त बनेन बनेन, नदी कटानले घर पनि बग्न लाग्यो, पुल बन्दा कम्तीमा तटबन्ध त बन्थ्यो– उनले भने । बेला–बेला ठेकेदारको मान्छे आउँछ, काम गरे जस्तो गर्छ, अनि फेरि हराउँछ– स्थानीय कार्तिकलाल राजवंशीले भने– ‘पुल बन्छ र ? यहाँका जनताको आश नै मरिसक्यो ।

नदीमा झोलुङ्गे पुल बनाउने ठेक्का निलगिरी सेवा प्रालि बानेश्वर काठमाडौँले २०७२ भदौ ७ गते लिएको थियो । तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लगाएको सो ठेक्का निर्माण व्यवसायी युवराज डाँगीले लिएका हुन् । साढे २ करोडको लागतमा ठेक्का लागेको पुलको काम ३० महिनामा सक्नुपर्ने सम्झौता थियो ।

लामो समयदेखि निर्माण व्यवसायी डाँगी सम्पर्कविहीन रहेको प्रदेश सांसद वसन्त बानियाँले बताए । मेची नदीको झोलुङ्गे पुल बनाउने जिम्मा संघीय सरकारको मातहत रहेको बताउँदै सांसद बानियाँले भने– ‘प्रदेशमा कुरा उठाए पनि हालसम्म सुनवाइ भएको छैन, पुल नबन्दा स्थानीय जनताले सास्ती भोग्दै आउनुपरेको छ ।

यता कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले निर्माण व्यवसायीको कमीकमजोरीका कारण समयमा पुल नबनेको बताएका छन् । उनले भने– ‘निर्माण व्यवसायी डाँगीसँग सम्पर्क गर्दा पुरानो दररेटमा काम गर्ने वातावरण नभएकोले पुल बनाउन नसकेको बताए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन, ललितपुरले झोलुङ्गे पुलको रेखदेखको जिम्मा पाएको छ । जिल्लास्थित पूर्वाधार विकास कार्यालय लगायत अन्य कुनै पनि कार्यालयलाई समेत पुल हेर्ने जिम्मा नदिँदा पुल अलपत्र परेको स्थानीयवासी बताउँछन् ।

नदी तर्न शुल्क तिर्न बाध्य छन् स्थानीय

मेची नदीमा झोलुङ्गे पुल नबन्दा आउ–जाउ गर्ने स्थानीय हिउँद वा बर्खा दुवै मौसममा नदी तर्न शुल्क तिर्न बाध्य छन् । हिउँदमा बाँसे पुल बनाउने ठेकेदारलाई प्रतिव्यक्ति ५ रुपैयाँ, साइकलको १० रुपैयाँ र मोटरसाइकलको २० रुपैयाँसम्म तिर्छन् । अहिले बर्खामा डुङ्गा चढे बापत प्रतिव्यक्ति भारतीय १० रुपैयाँ, साइकलको २० रुपैयाँ र मोटरसाइकलको ५० रुपैयाँ तिर्नुपर्छ ।

नेपाली भूमि भए पनि पाठामारीमा आर्थिक कारोबार भारतीय रुपैयाँमा हुन्छ । त्यसैले आउजाउ गर्ने व्यक्तिले बाँसे र डुङ्गा चढ्दा भारतीय रुपैयाँ तिर्छन् । ‘नदी तर्न बर्खामा धेरै सास्ती छ– स्थानीय पवनले भने– ‘डुङ्गा चढ्न पानीमा जानै पर्छ, घण्टौँ पर्खिनु पर्छ, नदीमा ठूलो भेल आएमा जोखिम पनि त्यतिकै छ । डुङ्गाको ठेक्का स्थानीय मोहम्मद जलाल मियाले लिएका छन् । डुङ्गा ठेकेदारले चर्को शुल्क असुल्दै आएकोप्रति स्थानीयले गुनासो गरेका छन् । कचनकवल गाउँपालिकाले लगाएको डुङ्गाको ठेक्का सम्झौता असार मसान्तमा सकिसकेको छ । सम्झौता सकिए पनि मियाले डुङ्गा सञ्चालन गर्दै आइरहेका छन् ।

गाउँपालिकाले चालू आर्थिक वर्ष ०७९/०८०को लागि २ लाख ३० हजार रुपैयाँमा डुङ्गा सञ्चालन सम्बन्धी ठेक्का आव्हान गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए । ‘शुरुमा २ लाख ५० हजारमा ठेक्का आव्हान गरियो, कसैले टेण्डर नहालेपछि पुनः २० हजार घटाएर टेण्डर निकालिएका हो– प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने– ‘४÷५ जनाले टेन्डर हालिसकेका छन्, अबको दुई÷चार दिनमा ठेक्का स्वीकृत हुन्छ ।

Comments

सम्बन्धित खवर