प्रदेश एककाे नाम राख्ने प्रयास जारी : अडान त्यागेर लचिलाे बन्दै दलहरू , जुट्ला त सहमती ?
- श्रावण ८, २०७९ मा प्रकाशित
इटहरी । तीन दिन अघिसम्म प्रदेशको नाम लगभग नआउने बताइरहेका प्रदेश १ का शीर्ष नेताहरु शुक्रबारको सर्वदलीय बैठकपछि केहि आशावादी देखिएका छन् । दलहरुले आ–आफ्नो अडानमा पुर्नविचार गर्न सकिने संकेत गरेपछि नेताहरु आशावादी बनेका हुन् ।नेकपा माओवादी केन्द्रले एकल पहिचानबाट बहुपहिचानका पक्षमा उभिने निर्णय गरिसकेको छ । मुख्य विपक्षी एमाले पनि कोशीबाट पछि हट्ने संकेत बुझेसँगै प्रदेशका नेताहरु नामकरणबारे आशावादी देखिएका हुन् ।
‘सभामुखले आयोजना गरेको सर्वदलीय बैठकपछि हामी सबै आशावादी छौं’, बैठकमा सहभागी नेताहरुले अनौपचारिक कुराकानी क्रममा भनेका छन् ‘सबैले एक स्टेप ब्याक हुने कुरा गरेपछि आशा बढेको हो ।’ सर्वदलीय बैठकमा सत्तारुढ गठबन्धनका दुई नेता मुख्यमन्त्री राजेन्द्र राई र आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बो तथा जयराम यादव, विष्णुमाया तुम्बाहाम्फेसहितका नेताहरुले प्रदेशको नाममा पहिचान जोडिनैपर्ने अडान राखेका थिए ।
सत्तारुढ दलका नेताहरुको यस्तो अडानपछि एमाले नेताहरु हिक्मतकुमार कार्की र जीवन घिमिरेले एमाले लचक हुन तयार रहेको बताएका थिए । ‘कोशी एमालेको आधिकारिक निर्णयको नाम होइन’, बैठकपछि एमाले नेताहरुले भने ‘यदि सत्तारुढ शक्तिहरु लचक हुन तयार छन् भने हामी पनि तयार छौं भन्ने संकेत हामीले दिएका छौं ।’यसरी एमालेले कोशीको विकल्पबारे आफू लचक हुनसक्ने संकेत दिएपछि नेताहरु सकारात्मक दिशातिर अवस्था अघि बढेको बताउँछन् । ‘यहि अधिवेशनबाट नाम आउने प्रतिशत बढेको पाएको छु’, बैठकपछि मुख्यमन्त्री राईले भनेका थिए ‘आजको छलफल सकारात्मक दिशामा अघि बढेको छ ।’
दुई दिनअघिसम्म सरकारी अडानले नाम नआउने जोखिम बढेको बताइरहेका एमाले नेताहरु पनि आशावादी देखिएका छन् । ‘उहाँहरूले आफ्नो अडानमा पुनःविचार गर्ने संकेत गरेको हो कि जस्तो गर्नुभएको छ’, एमाले नेता कार्कीले भने, ‘यदि उहाँहरूको यो खेल होइन भने एमाले छलफलका लागि तयार छ ।’सत्तारूढ दुई वाम दल माओवादी र समाजवादीले विकल्प खोज्दा पनि पहिचानलाई मुख्य आधार बनाउने गरी छलफल गर्न सकिने बताएका छन् । बलियो अडान राख्दै आएकाहरु पुनःविचार गर्न सकिने ठाउँमा पुगेकै कारण नामको सम्भावना बढेको नेताहरु बताउँछन् ।
सर्वदलीय बैठकमा कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले संसदमा लगेर प्रक्रिया थाल्नेबारे सोच्ने कि भनेर प्रस्ताव गरेका थिए । जवाफमा मुख्यमन्त्री राईले पूर्वसहमति बेगर नाम आउँदैन भन्दै ‘कुनै न कुनै रूपमा नाममा पहिचान जोडिनैपर्छ’ भन्ने अडान राखेका थिए ।‘मुख्यमन्त्री नै कन्भिन्स नहुने हो भने नाम राख्ने संसदीय प्रक्रिया कसरी सुरू हुन्छ ?’, मुख्यमन्त्री राईले भने, ‘खराब नाम आउनुभन्दा बरू नाम नआउँदै ठीक छ । सरकारको न्यूनतम बटमलाइन यहि हो ।’
शुक्रबारको बैठकमा एमालेले कोशीको अडान दोहोर्याउँदा एकीकृत समाजवादी, माओवादी, जसपा लगायतका नेताहरूले एमालेले ल्याएको कोशीको नाममा सहमत हुनै नसकिने बताएपछि केहीबेर चर्काचर्की पनि भएको थियो । ‘कोशी हामी कुनै हालतमा मान्दैनौं’, सत्तारूढ दलका एक नेताले भने, ‘बरू हामी पनि बीचतिर कतै आउँछौं, तपाईंहरू पनि कोशी छाडेर आउनुुस् ।’ सत्तारूढ दलहरूले यस्तो प्रस्ताव गरेपछि एमालेले छलफलका लागि तयार भएको जनाएको छ ।
दलहरुले सर्वदलीय बैठकलाई निरन्तरता दिने सहमति गर्दै छिटोभन्दा छिटो सहमति जुटाएर प्रक्रियामा लैजाने बताएका छन् । ‘आउँदो बैठक कांग्रेसले बोलाउने गरी कुरा भएको छ’, कांग्रेस नेता राजीव कोइरालाले भने, ‘हामी छिट्टै आयोजना गर्छौं ।’ ‘केही आशा थपिएको छ’, बैठकपछि पत्रकारहरूसँग कुरा गर्ने अधिकांश नेताहरूको एकै स्वर थियो ‘हेरौं आउँदो छलफलले निष्कर्ष देला कि ?’
९३ सदस्यीय प्रदेश सभामा एमाले सांसद ३९ (सभामुखसहित) जना छन् । नेपाली कांग्रेस २१, माओवादी केन्द्र १५ (१६ मध्ये १ पदमुक्त), एकीकृत समाजवादी १०, जसपा ३ र राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १/१ जना छन् । प्रदेशमा दुई तिहाइ संख्या पु¥याउन ६२ जना आवश्यक पर्छ । ठूला चारमध्ये कम्तीमा तीन वटा दल एकातिर नभएसम्म यो संख्या पुग्ने सम्भावना हुँदैन ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments