•  ११ मंसिर २०८१, मंगलवार
  •  6:39:58 AM

ब्राउन सुगरसहित विराटनगर र भद्रपुरबाट चार जना पक्राउ

- असार ४, २०७९ मा प्रकाशित



इटहरी । अन्तर्राष्ट्रिय बजारमा महँगो मूल्य पर्नेमध्येको लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित विराटनगर र भद्रपुरबाट सशस्त्र तथा नेपाल प्रहरीको संयुक्त टोलीले चार जनालाई पक्राउ गरेको छ । 

विराटनगरबाट दुई जना भारतीय र भद्रपुरबाट दुई जना नेपाली नागरिक पक्राउ परेका हुन् । विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट एक जना नाबालकसहित दुई जना भारतीयलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीले जानकारी दिए । भारतीय नम्बर प्लेटको मोटरसाइकल मा सवार रहेका उनीहरुलाई सशस्त्र प्रहरी बल बीओपी (बोर्डर आउट पोस्ट) रानी र अस्थायी प्रहरी चौकी मटेरुवाको संयुक्त टोलीले पक्राउ गरेको हो । 

पक्राउ परेकामध्ये १४ वर्षीय बालकको पहिचान गोप्य राखिएको छ । अर्का व्यक्ति भारतको अररिया सोनामनीका १८ वर्षीय विकास ठाकुर हुन् । बिआर ३८ भी ३२५१ नम्बरको भारतीय मोटरसाइकलमा ३.६ ग्राम ब्राउन सुगर लिएर आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको डिआइजी गिरीको भनाइ छ । 

यसैबीच सुरक्षाकर्मीको संयुक्त टोलीले झापाको भद्रपुर नगरपालिका–५ स्थित नेपाल–भारत सिमानाको मेची पुलबाट दुई जनालाई पक्राउ गरेको छ । भारतबाट ब्राउन सुगर लिएर आउँदै गर्दा भद्रपुर–६ का ३६ वर्षीय सञ्जीव मेचे र भद्रपुर–७ का २९ वर्षीय सदम शर्मालाई पक्राउ गरिएको जानकारी गिरीले दिए । 

दुवै जना मे ३ प ९८४ नम्बरको मोटरसाइकलमा भारतबाट आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएर चेकजाँच गर्दा २ मिलिग्राम ब्राउन सुगर फेला परेको उनले बताए । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । 

खुला सीमाका कारण भारतबाट नेपालतिर लागुऔषधको ओसारपसार व्यापक मात्रामा हुने गरेको छ । डिआइजी गिरीका अनुसार लागुऔषधको ओसारपसार एवम् विभिन्न अवैध गतिविधि नियन्त्रण गर्नका लागि सशस्त्रको विशेष टोली परिचालन गरेर निगरानी बढाउँदै नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गर्ने काम भइरहेको छ । सीमा अपराध, चोरी तस्करी एवम् अवैध ओसारपसार तथा कानुनद्धारा बर्जित सबै खालका गतिविधिलाई नियन्त्रणमा लिन नेपाल प्रहरीसमेतका सुरक्षा निकायसँग समन्वय गरेर सशस्त्रले काम गरिरहेको जानकारी उनले दिए । 

Comments

सम्बन्धित खवर