•  ११ मंसिर २०८१, मंगलवार
  •  6:42:47 AM

झापामा बढदै सवारी दुर्घटनाका घटना : ११ महिनामा १०७ जनाले गुमाए ज्यान

- असार ३, २०७९ मा प्रकाशित



झापा । झापामा भएको सवारी दुर्घटनामा एक सय सात जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्ष २०७८/२०७९ को ११ महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर सबैभन्दा बढी ८८ पुरुष, १४ महिला र पाँच जना बालबालिका सहित एकसय सातजनाको ज्यान गएको हो ।

दुर्घटनाबाट ६ सय ४३ जना सामान्य र २ सय २९ जना सख्त घाइते भएको कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिनुभयो । ११ महिनाको अवधिमा जिल्लामा ५ सय ५६ वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा ८ सय २६ वटा सवारी साधन संलग्न रहेको ट्राफिक प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिनुभयो ।

सबैभन्दा बढी ५ सय पाँचवटा मोटरसाइकल दुर्घटनामा परेका हुन् । कार्यालयले चालु आर्थिक वर्षको यो अवधिमा ३ करोड ३ लाख पाँच हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको छ । सवारी नियम उल्लंघन गर्ने साधन कारवाही गर्दा उक्त राजस्व संकलन भएको हो ।

४२ हजार ७ सय सवारी साधन कारबाहीबाट उक्त रकम संकलन भएको ट्राफिक प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिनुभयो ।

सबैभन्दा बढी राजश्व मोटरसाइकल कारबाहीबाट संकलन भएको छ । यो अवधिमा मोटरसाइकल कारबाहीबाट १ करोड १२ लाख ५१ हजार रुपैँया राजश्व संकलन भएको उहाँले जानकारी दिनुभयो ।

Comments

सम्बन्धित खवर