•  ११ मंसिर २०८१, मंगलवार
  •  6:41:08 AM

प्रदेश एककाे लाेभलाग्दाे बजेट , बराहक्षेत्रमा तीन जिल्ला जोड्ने झोलुङ्गे पुल देखि इटहरीकाे टेंग्रा खाेला ब्यवस्थापन सम्म

- असार १, २०७९ मा प्रकाशित



इटहरी । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको छ ।प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा स्थानीय तहको वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख र संघीय अनुदान वचत फिर्ता २ अर्ब रहेको छ । बजेटको अनुमानित स्रोत प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख, समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख प्राप्त हुने अनुमान छ ।

राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख खर्च व्यहोरिने र बाँकी नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख तथा वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख व्यहोरिने मन्त्री आङ्बोले बताएका छन् । चालू आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको सरकारले करिब २१ प्रतिशत बृद्धि गरेर नयाँ बजेट ल्याएको हो ।

त्यस्तै प्रदेश सरकारले सुनसरी, उदयपुर र धनकुटा जोड्ने गरी बराह क्षेत्रमा कोशी र कोकाह नदीमा आकर्षक झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । बजेट बक्तव्य मार्फत तीन जिल्ला जोड्ने झोलुङ्गे पूललाई पर्यटन प्रवद्धन अन्तरगत कार्यक्रम मार्फत निर्माण गरिने जनाइएकाे छ । त्यसका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएकाे हाे ।

पर्यटन क्षेत्रको विकासका लागि डिजिटल वेव र मोवाइल एप निर्माण गर्ने पनि उल्लेख गरिएको छ । प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन गर्न डिजिटल वेव र मोवाइल एप निर्माण गरी सञ्चालनमा ल्याइने बजेट बक्तब्यमा उल्लेख गरिएकाे छ।’

यसैगरी वर्षेणि बाढिले इटहरी डुबान बनाउने टेंग्रा खाेला ब्यवस्थापनकालागि पनि प्रदेश सरकारले बजेट बिनियाेजन गरेकाे छ । ट्यांग्रालाइ बुढिखाेलामा मिसाउनकाे निमित्त अध्यन गर्न प्रदेश सरकारले बजेट बिनीयाेजन गरेकाे हाे ।   

Comments

सम्बन्धित खवर