•  १० मंसिर २०८१, सोमबार
  •  3:40:56 AM

जेठ ३१ गते जिल्ला समन्वय समिति मोरङको निर्वाचन : तयारी अन्तिम चरणमा

- जेष्ठ २५, २०७९ मा प्रकाशित



इटहरी । जिल्ला समन्वय समिति मोरङको आसन्न निर्वाचनका लागि मङ्गलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । जेठ ३१ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मतदाता नामावली प्रकासन तथा नामावली सच्याउने वा छुट नाम समावेश र संशोधित मतदाता नामावली प्रकासन गर्ने समय बुधबार (भोलि)का लागि तोकिएको छ । 

मतदाताको विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकासनको समय बिहीबार अर्थात जेठ २६ गतेलाई छुट्याइएको बुढाथोकीको भनाइ छ । उनका अनुसार जेठ २७ गते शुक्रबार उम्मेदवारको मनोनयन दर्ता, उम्मेदवारको सूची प्रकासन र विरोधमा उजुरी दिने समय तोकिएको छ । 

उम्मेदवारविरुद्धको उजुरी उपर जाँचबुझ गरेर निर्णय लिने, उम्मेदवारको नामावली प्रकासन गर्ने, उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकासनको समय २८ गतेलाई तोकिएको छ । जेठ २९ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने र ३१ गते जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न गर्ने कार्यतालिका रहेको सूचना अधिकारी बुढाथोकीले बताए । उनका अनुसार निर्वाचन सम्पन्न भएपछि जतिसक्दो चाँडो मतगणना गरेर परिणाम सार्वजनिक गरिने छ ।

यसअघिको स्थानीय तह निर्वाचनबाट विजयी भएका जिल्लाभरका स्थानीय तहका मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षले समन्वय समितिको निर्वाचनमा मतदान गर्न पाउने छन् । १७ वटा स्थानीय तह रहेको मोरङमा ३४ जना मतदाता हुने छन् । 

समन्वय समितिको उम्मेदवार स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि मात्रै हुन पाउने व्यवस्था छ । नौ सदस्यीय समितिमा प्रमुख र उपप्रमुख, तीन जना महिला सदस्य, दलित वा अल्पसङ्ख्यकमध्ये एक जना र अन्य सदस्य तीन जना निर्वाचित हुने छन् । 

मोरङमा मेयर/उपमेयर र अध्यक्ष/उपाध्यक्ष गरेर नेकपा (एमाले)का २१, नेपाली काङ्ग्रेसका १२ र नेकपा (माओवादी केन्द्र)का एक जना छन् । स्थानीय निर्वाचनमा मिक्लाजुङको उपाध्यक्ष माओवादीले जितेको थियो ।  

जिल्ला समन्वय समिति मोरङको निर्वाचनबाट एमाले विजयी बन्ने पक्का भएको छ ।  एमालेबाट समितिको प्रमुखमा सुन्दरहरैँचाका अजम्बर राई र उपप्रमुखमा रङ्गेलीकी उषा झालाई उठाउने निर्णय भइसकेको एमाले मोरङका सचिव रूपेश खतिवडाले जानकारी दिए ।  

Comments

सम्बन्धित खवर