•  १० मंसिर २०८१, सोमबार
  •  3:45:48 AM

तामाकोसी पाँचौँका लागि अघि बढाइँयाे निर्माण व्यवसायी छनोट प्रक्रिया

- जेष्ठ २५, २०७९ मा प्रकाशित



काठमाडाैं । माथिल्लो तामाकोसी आयोजनासँग जोडिएको अर्को आयोजना तामाकोसी पाँचौँको निर्माणको तयारी सुरु भएको छ । १६ अर्ब रुपैयाँ लागतको यस आयोजनाका लागि निर्माण व्यवसायी छनोटको कार्य अघि बढाइएको छ । 

माथिल्लो तामाकोसीको ‘टेलरेस’ सुरुङबाट निस्केको पानी प्रयोग गरेर १ सय मेगावाट बराबर बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढाइएको आयोजना हो । सोमबार सरकारले लगानी स्वीकृत गरेको छ । पाँच अर्ब रुपैयाँभन्दामाथि लगानी हुने आयोजनाको निर्णय लगानी बोर्डमार्फत हुनुपर्ने कानुनी प्रावधान छ ।

तामाकोसी पाँचौँका लागि १६ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । यो आयोजना पनि पूर्णरुपमा स्वदेशी लगानीमा नै निर्माण हुनेछ । माथिल्लो तामाकोसीको विद्युत् गृह रहेको ठाउँबाट टेलरेस सुरुङ हुँदै बाहिर निस्केको पानी प्रयोग गरेर निर्माण गर्न लागिएको यो आकर्षक आयोजना हो ।

तामाकोसी लविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिबमान प्रधानका अनुसार आयोजना निर्माणमा जानुपूर्वका सबै काम भइरहेको छ । परामर्शदाता छनौटको काम अन्तिम चरणमा पुगेको छ ।ऋण लगानीकर्ता कर्मचारी सञ्चय कोषसँग वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौताको पनि अन्तिम तयारी भइरहेको छ । आगामी असार मसान्तभित्रै सबै काम सक्ने योजनाका साथ काम भइरहेको उनले जानकारी दिए ।

निर्माण व्यवसायी छनौटका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन लागिएको छ ।  नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चय कोषले तामाकोसी पाँचौँमा १२ अर्ब रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने भएको छ । लगानीसम्बन्धी त्रिपक्षीय समझदारीपत्रमा गत साउनमा हस्ताक्षर भएको थियो ।

माथिल्लो तामाकोसीको क्यासकेड परियोजनाका रुपमा तामाकोशी पाँचौँ अगाडि बढाउन लागिएको हो । आयोजनाको कूल लगानीमध्ये रु १२ अर्ब कोषले उपलब्ध गराउँदा थप रु चार अर्ब भने नेपाल विद्युत प्राधिकरणले नै लगानी गर्नेछ ।

माथिल्लो तामाकोसीको विद्युत् गृहमा बिजुली निकालेर निस्किएको पानीलाई उपयोग गरेर दोलखाको स्थानीय सुरी दोभान पु¥याइनेछ । आयोजनामा कूल आठ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।

माथिल्लो तामाकोसी निर्माणका क्रममा नै केही संरचनासमेत तयार भएकाले आयोजनालाई थप सहज भएको प्रमुख कार्यकारी अधिकृत प्रधानको भनाइ छ । यसमा बाँध निर्माण गर्नुनपर्ने भएकाले पनि सहज भएको हो ।

माथिल्लो तामाकोसीको टेलरेस सुरुङलाई अर्को टनेलमा स्थानान्तरण गर्न मिल्ने गरी भूमिगत इन्टेक निर्माण भइसकेको छ । तामाकोसी पाँचौँमा २५ मेगावाट क्षमताका चार युनिट रहनेछ । आयोजनाको कूल लागतका आधारमा प्रतिमेगावाट लागत  १६ करोड रुपैयाँ हाराहारीमा मात्रै पर्ने भएकाले पनि सस्तो मानिएको छ । आयोजनाका लागि पहुँचमार्ग निर्माण गर्नुपर्ने अवस्था छैन ।

आयोजनाले वार्षिक रुपमा ५ सय ४० गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । आयोजनाले स्थानीय प्रभावित एवं आमसर्वसाधारणलाई साधारण शेयर बिक्री गर्नेछ । केही अघिसम्म सो आयोजना माथिल्लो तामाकोसी अन्तर्गत नै राख्नुपर्ने माग पनि उठेको थियो । तर, प्राधिकरणले छुट्टै कम्पनी स्थापना गरेर अगाडि बढाएको हो । 

Comments

सम्बन्धित खवर