•  १० मंसिर २०८१, सोमबार
  •  3:10:25 AM

प्रदेश १ को नयाँ बजेट ३५ अर्बमाथि : कृषिलाइ बिशेष प्राथमिकता

- जेष्ठ २४, २०७९ मा प्रकाशित



इटहरी । प्रदेश १ सरकारले बजेट निर्माणपूर्व व्यापक छलफल गरेको छ । तर, बजेटको आकार र दायित्वको कारण नयाँ योजना थप गर्नसक्ने अवस्थामा भने प्रदेश सरकार देखिँदैन ।

प्रदेश सरकारले स्थानीय निर्वाचन सम्पन्न भएलगत्तैदेखि १४ जिल्लामै पुगेर स्थानीय तहका जनप्रतिनिधि, सांसद, उद्योगी, व्यापारी तथा सरोकारवाला निकायसँग छलफल गर्यो ।

त्यसपछि लगत्तै विराटनगरमा प्रदेश १ का सांसदहरुलाई एकैठाउँ राखेर छलफल गर्यो । यस्तै अर्थविज्ञ तथा प्राध्यापकहरुसँग पनि बजेटका प्राथमिकताको विषयमा सुझाव माग गर्दै छलफल गर्यो भने उद्योगी व्यापारीलाई उद्योग क्षेत्रको विकास र पर्यटनको विषमा पनि सुझाव माग गर्दै छलफल गर्यो ।

‘प्रदेश सरकारले छफलमा बोलाएर सबैलाई सरकार है भन्ने अपनत्व दिन खोजेको छ’, छलफलमा सहभागी विराटनगरका भेषराज पोखरेलले भने, ‘यसअघि प्रदेशले यस्ता छलफल कार्यक्रम राखेको भए अहिलेजस्तो बजेट असन्तुलनको अवस्था आउँदैन थियो ।’
यसअघिको छलफलमा प्रदेश सांसद तथा कर्मचारी केन्द्रीत मात्रै छलफल हुने गरेको थियो । तर, बजेट तथा कार्यक्रम भनेको सबै क्षेत्रको लागि हुने भएकोले उनीहरुको पनि सुझाव माग गरिएको छ । ‘बजेट निर्माण भनेको केबल मन्त्री, सचिव तथा कर्मचारीहरुको दायित्व र सरोकारको विषय मात्रै होइन,’ प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले भने, ‘यो त सबैपक्षको अपनत्व हुनुपर्छ, बजेटले सबैलाई प्रभाव पार्छ, सबैको सुझाव समेट्नुपर्छ, त्यसो भएको हुनाले हामीले यसखालका छलफल गरेका हौं ।’

बजेट ३५ अर्बमाथिको हुने अनुमान

प्रदेश १ सरकारले आगामी अर्थिक वर्षको बजेट ३५ अर्ब माथिको हुने अनुमान गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार संघीय सरकारले दिने १९ अर्ब ९ करोड ९१ लाख, प्राकृतिक स्रोत वित्त आयोगबाट बाँडफाँड हुने राजस्वको स्रोत अनुमानित १० अर्ब र आन्तरिक राजस्वको स्रोतबाट ४ देखि ६ अर्बको बीचमा हुने अनुमान गरिएको छ ।

प्रदेश सरकारले १४ वटै मन्त्रालयलाई बजेटको सिलिङ पठाएर बजेट निर्माण पनि सुरु गरिसकेको छ । सबैभन्दा धेरै यसपटक पनि प्रदेशले भौतिक पूर्वाधार निर्माणमा बजेट छुट्याउने भएको छ । किनकी अघिल्लो पटक प्रदेश सरकारले सुरु गरेका आयोजनाका लागि बजेट छुट्याउँदा मात्रै पनि पूर्वाधारसँग सम्बन्धित मन्त्रालयको बजेटको आकार ठूलो हुनेछ ।

प्रदेश १ को आर्थिक मामिला मन्त्रालयलाई सबैभन्दा कम १२ करोडको सिलिङ छ । यस्तै यातायात तथा सञ्चार मन्त्रालयका लागि २८ करोड, सामाजिक विकास मन्त्रालयका लागि ८० करोड, आन्तरिक मामिला तथा कानून मन्त्रालयका लागि ३५ करोडको सिलिङ पठाइएको छ ।

कृषिको उत्पादनमा आधारित अनुदान

संघीय सरकारले कृषिलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । प्रदेश १ सरकारले पनि कृषि क्षेत्रलाई नै प्राथमिकता दिएर बजेट निर्माणको तयारी गरिरहेको जनाएको छ ।
यसअघि नै सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता संसदमा पेश गरिसकेको छ । कृषि क्षेत्रको बढ्दो व्यापार घाटालाई लक्षित गरी कृषि तथा पशुपंक्षीजन्य वस्तुको उत्पादन वृद्धि गर्न उन्नत बिउ, बेर्ना र उन्नत पशुनश्लको सहज उपलब्धता सुनिश्चित गर्ने, कृषि उत्पादनलाई सहकारी र निजी क्षेत्रको सहकार्यमा प्रशोधन र उद्योगहरुसँग जोड्न नमूना कार्यक्रमहरुको सुरुवात गर्ने उल्लेख छ ।

यस्तै रासायनिक मल माथिको परनिर्भरता कम गर्न प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने, दीर्घकालीन रूपमा माटो सुधार र प्राङ्गारिक खेती प्रबद्र्धन गर्ने, पशुपंक्षी, मत्स्यपालन, मह, च्याउ र तरकारीलगायतका बाली उत्पादन प्रबद्र्धन कार्यक्रमलाई प्राथमिकता दिने, बाली र पशुपंक्षीको बजारीकरणमा सहकारी, निजी तथा अन्तर सरकार समन्वय, सहयोग र सहकार्य गर्ने उल्लेख छ ।

विज्ञहरुकै सुझावका आधारमा बजेट निर्माण हुने अर्थ मन्त्रालयका सचिव सुमन दाहालले जानकारी दिए । ‘हामीले कृषि क्षेत्रलाई फोकस गरेरै बजेट निर्माण गरिरहेका छौं,’ दाहालले भने, ‘यो वर्षको बजेटको प्राथमिकता भनेकै हाम्रो कृषि हो ।’ दाहालका अनुसार कृषिलाई व्यवसायीकरण गर्नुपर्ने र त्यसका लागि उत्पादनको आधारमा अनुदान दिँने विषयमा छलफल सुरु भएको छ ।

‘हामीले कृषिलाई व्यवसायीकरण गर्नुप¥यो, त्यसको लागि उनीहरुलाई उत्पादनको आधारमा अनुदान दिँदा हुन्छ कि भन्ने हाम्रो फोकस छ,’ कुन–कुन उत्पादनलाई त्यसरी अनुदान दिने हो भन्ने प्रश्नमा उनले भने, ‘औपचारिक क्षेत्रमा ल्याउन सक्नें खालका वस्तुहरुलाई हामीले अनुदान दिने गरी बजेट निर्माण गर्ने सोचेका छौं ।’ त्यसबाहेक व्यक्तिगत अनुदानको कुरामा पुनःविचार गर्ने सरकारको तयारी छ । नतिजामा आधारित अनुदान प्रणाली बनाउने उनले बताए ।

Comments

सम्बन्धित खवर