इटहरीमा मतगणना सुरु हुँदै, १ र २० नम्बर वडा पहिलो प्राथमिकतामा
- बैशाख ३१, २०७९ मा प्रकाशित
इटहरीः हिजो सम्पन्न स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिकामा भएको मतदानको मतगणना केही बेरमा सुरु हुँदैछ ।
मतगणनाका लागि उपमहानगरपालिका परिसरमा रहेको साँस्कृतिक भवनमा सञ्चालित निर्वाचन कार्यालयमा सम्पूर्ण तयारी पूरा भएको छ ।
पहिलो चरणमा १ र २० नम्बर वडाको मतगणना गरिने निर्वाचन कार्यालय इटहरीले जनाएको छ । मतदान हिजै सम्पन्न भएपनि हालसम्म मतगणना सुरु नहुँदा नगरवासी मतगणनाको व्यग्र प्रतिक्षामा रहेका छन् । हिजो सम्पन्न मतदानमा इटहरीका २० वटै वडाका जम्मा एक लाख चार हजार ६ सय २६ मतदातामध्ये ७३ हजार सात सय ३२ जनाले मतदान गरेका थिए । यो संख्या कुल मतदाता संख्याको ७०.४७ प्रतिशत हो । अर्थात् इटहरी उपमहानगरमा ७०.४७ प्रतिशत मत खसेको छ ।
निर्वाचनमा मेयर पदका लागि मुख्यतया नेकपा एमालेका उम्मेदवार यामकुमार सुब्बा तथा बाम लोकतान्त्रिक संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका हेमकर्ण पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । हिन्दू राज्य र राजसँस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट पूर्वप्रधानपञ्च रामकुमार सुब्बाका छोरा आकाश सुब्बा मेयर पदमा प्रतिस्पर्धामा रहेका छन् । राप्रपा आफैँमा ठूलो शक्ति हुन नसक्ने भएपनि ठूला दुई प्रतिस्पर्धी नेकपा एमाले र संयुक्त गठबन्धनका बीचमा कसको पल्ला भारी हुने भन्ने सवालमा भने राप्रपाको चुनावी अवस्थाले प्रभाव पार्ने जानकारहरु बताउँछन् ।
मुख्यतया राप्रपालाई जति धेरै मत प्राप्त भयो, गठबन्धनको जितको सम्भावना त्यति नै कम हुने आँकलन गरिएको छ । केही स्वतन्त्र उम्मेदवारहरुसहित इटहरीको मेयर पदमा कुल १६ जना आकांक्षीहरु प्रतिस्पर्धामा रहेका छन् । २०४७ सालयताका सबै निर्वाचन इटहरीमा एमालेले जित्दै आएको छ । यस पटक पनि एमाले आफूले भन्दै आएको लाल किल्ला जोगाउने प्रयासमा हुनेछ भने गठबन्धनका तर्फबाट मेयरको उम्मेदवारी दिने अवसर पाएको नेपाली कांग्रेस लाल किल्ला ध्वस्त पारी चारतारे झण्डा फहराउने जोडबलमा लाग्ने देखिन्छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर १०, २०८१इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने
-
ताजा मंसिर १०, २०८१लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि
-
ताजा मंसिर १०, २०८१चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने
-
ताजा मंसिर १०, २०८१उपनिर्वाचन प्रचारमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरे कारवाही
-
ताजा मंसिर १०, २०८१नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने
Comments