साउदीका राजकुमार आज नेपाल आउँदै, १२ वर्षपछि उच्चस्तरीय भ्रमण
- फाल्गुन ३०, २०७८ मा प्रकाशित
काठमाडौं । साउदी अरबका विदेशमन्त्री फैजल बिन फरहान बिन साउद आज (सोमबार) नेपाल आउँदै छन् । फैजल साउदीका राजकुमार पनि हुन् ।१२ वर्षअघि नोभेम्बर २०१० मा साउदीका राजकुमार अलवालिद बिन तलाल नेपालको अनौपचारिक भ्रमणमा आएका थिए । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले तलाललाई महाउज्जवल राष्ट्रदीपबाट विभूषित पनि गरेको थियो ।
महाउज्जवल राष्ट्रदीप नेपालले विदेशी नागरिकलाई दिने गरेको उच्च विभूषण हो । उनी निजी भ्रमणमा आए पनि उक्त विभूषण दिइएको भन्दै त्यसबेला सरकारको आलोचना पनि भएको थियो । तलालपछि साउदी अरबमा भ्रष्टाचार प्रकरणमा जेल पनि परे। यद्यपि सन् २०१८ जनवरीमा उनी जेलमुक्त भए ।
साउदी अरब र नेपालबीच एक दशकयता द्विपक्षीय भ्रमण निकै कम भएका छन् । खाडी मुलुक साउदीका तर्फबाट दोस्रो पटक राजकुमारको तहमा भ्रमण हुन लागेको हो । साउदीबाट उच्चस्तरीय भ्रमण नभए पनि नेपालबाट भने विगतमा साउदीमा त्यस्ता भ्रमण भएका थिए । सन् १९८३ मा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य साउदीको औपचारिक भ्रमणमा गएका थिए ।
नेपालबाट साउदीतर्फ मन्त्री तहमा छिटफुट भ्रमण पनि भए । सन् २००५ मा तत्कालीन युवराजधिराज पारस साउदीका राजाको निधनमा श्रद्धाञ्जली दिन साउदी अरब गएका थिए । सन् १९८३ मा तत्कालीन राजकुमार ज्ञानेन्द्र साउदी अरब गएका थिए ।
उच्चस्तरीय भेटवार्ता हुने
परराष्ट्र मन्त्रालयले साउदीका विदेशमन्त्री औपचारिक भ्रमणमा नेपाल आउन लागेको जनाएको छ । साउदीका विदेशमन्त्रीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नारायण खड्कासँग भिन्दाभिन्दै भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्काले साउदी विदेशमन्त्रीलाई दिवाभोज दिने भएका छन् ।
साउदीका विदेशमन्त्री २४ घण्टा नेपालमा रहने छन् । उनको भ्रमण टोलीमा दुई दर्जन अधिकारी रहने छन् । दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा उनी नेपाल आउन लागेको बताइएको छ । उनी आइतबार श्रीलंका आइपुगेका छन् ।
श्रीलंकाको राजधानी कोलम्बोबाट साउदी विदेशमन्त्री फैजल सोमबार अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा उत्रने छन् । उनी चार्टड विमानमा नेपाल आउने छन् । फैजललाई नक्सालस्थित होटल म्यारियटमा बस्ने व्यवस्था मिलाइएको छ ।
एक साताअघि मात्रै काठमाडौस्थित साउदी दूतावासले परराष्ट्र मन्त्रालयलाई विदेशमन्त्री फैजल नेपाल भ्रमणमा आउन चाहेको बताएको थियो । हाल टर्की भ्रमणमा रहेका परराष्ट्रमन्त्री खड्का साउदीका विदेशमन्त्रीको भ्रमणकै लागि सोमबार बिहान स्वदेश फर्किंदै छन् ।
एक सम्झौतापत्रमा हस्ताक्षर हुने
साउदी विदेशमन्त्रीको भ्रमणमा नेपाल र साउदी सरकारबीच जेनरल कोअपरेसन एग्रिमेन्ट (जीएसए) मा हस्ताक्षर हुने भएको छ । मन्त्रिपरिषद् बैठकले गतसाता उक्त सम्झौतामा हस्ताक्षरका लागि स्वीकृति प्रदान गरेको थियो। नेपाल र साउदीबीच राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा सहकार्यका लागि उक्त सम्झौताले मार्गनिर्देश गर्ने बताइएको छ ।
दुई नेपालीलाई आममाफी दिन आग्रह गरिने
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार साउदीमा मृत्युदण्डको सजाय कुरिरहेका दुईजना नेपालीलाई आममाफी दिन विदेशमन्त्रीलाई अनुरोध गरिने भएको छ । उनीहरु अहिले साउदीका दुई भिन्दाभिन्दै जेलमा छन् । शनिबार मात्रै साउदी अरबले एकै पटक ८१ जना व्यक्तिलाई विभिन्न मुद्दामा मृत्युदण्ड दिएको थियो ।
साउदी अरब नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्य हो। अहिले त्यहाँ चार लाखभन्दा बढी नेपाली कामदार छन् । नेपाली महिला साउदीमा हाउसमेडका रुपमा कार्यरत छन् । त्यहाँको कृषि तथा निर्माण क्षेत्रमा पनि उल्लेख्य संख्यामा नेपाली कामदार छन् । साउदी अरब नेपाली युवाको रोजगारीको प्रमुख गन्तव्य भए पनि नेपाल र साउदी अरबबीच श्रम सम्झौता छैन । नेपालले श्रम सम्झौताका लागि पटकपटक प्रस्ताव गरेपनि साउदीले त्यसमा सकारात्मक जवाफ दिएको छैन ।
साउदीबाट ऋण नलिइने
साउदी अरबले विगतमा नेपालको पुनर्निर्माण र जलविद्युत् क्षेत्रमा ऋण सहायता दिइसकेको छ ।
साउदी फन्ड फर डेभलपमेन्टका उपाध्यक्ष खालिद बिन सुलेमानको सन् २०१९ मा भएको नेपाल भ्रमणमा साउदीले नेपाललाई ३.३ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको थियो । तर, यसपटक ऋण नलिने सरकारको भनाइ छ । सन् २०१४ मा साउदी फन्डबाट नेपालले २.८५ अर्ब रुपैयाँ ऋण लिएको थियो । उक्त रकम अछामस्थित बुढीगंगा जलविद्युत् परियोजना निर्माणमा खर्च भएको थियो ।
को हुन् फैजल ?
फैजल साउदीमा दुई दशक व्यापार क्षेत्रमा क्रियाशील थिए । उनी सन् २०१७ मा राजनीतिमा प्रवेश गरे। फैजललाई त्यहीबर्ष तत्कालीन युवराज मोहम्मद बिन सलमानले सल्लाहकार नियुक्त गरे ।
त्यसपछि केही समय उनले कूटनीतिज्ञका हैसियतमा पनि काम गरे । दुई वर्षपछि सन् २०१९ अक्टोबरमा साउदी अरबका विदेशमन्त्री बने । त्यहाँका राजा सलमानले उनलाई विदेशमन्त्री नियुक्त गरेका थिए । १९७४ को नोभेम्बरमा जर्मनीमा जन्मेका उनी साउदीमा हुर्के । रियादको किङ साउद युनिभर्सिटीमा उनले बिजनेस एडमिनिस्टे्रसन अध्ययन गरेका थिए ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१रवि लामिछानेलाई म्याद थपकालागि अदालत उपस्थित गराइँदै
-
ताजा मंसिर ९, २०८१पूर्व राज्यमन्त्री पदम राईको निधन
-
ताजा मंसिर ९, २०८१दुर्गा प्रसाईंको बी एन्ड सी मेडिकल कलेजमा एमबीबीएस पढाउने तयारी
-
ताजा मंसिर ९, २०८१कालीगण्डकी करिडोरले जोड्दै मुक्तिनाथ र लुम्बिनी
-
ताजा मंसिर ९, २०८१धरहरा चढ्न आजदेखि शुल्क, फोटो खिच्दा पनि पैसा
Comments