•  १० मंसिर २०८१, सोमबार
  •  2:22:23 PM

इनरुवामा विवाह पञ्चमीमा सीताराम रथयात्रा निकालिने

- मंसिर १०, २०८१ मा प्रकाशित



इनरूवा । इनरुवा नगरपालिकामा विवाह पञ्चमीको अवसरमा सीताराम रथयात्रा निकालिने तयारी गरिएको रामजानकी गुठी संस्थाले जनाएको छ । सुनसरीको इनरुवा ४ स्थित रामजानकी मन्दिरमा गुठीले विभिन्न सरोकारवालासहितको छलफलबाट भव्य रूपमा रथयात्रा निकालिने निर्णय गरेको हो ।

रामसिता रथयात्रा तथा डोलामा पाँच हजारभन्दा बढी नगरवासीहरू सहभागी हुने आयोजकले जनाएको छ । सुनसरीको सदरमुकाम रहेको इनरुवा नगरपालिका क्षेत्रमा मङ्सिर २१ गते विवाह पञ्चमीको दिन डोला तथा रथयात्रा निकालिने भएको छ । स्थानीयहरूको उत्साहजनक सहभागितामा विवाह पञ्चमीको अवसरमा डोला तथा रथयात्रा निकालिने भएको हो ।

त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा रामसीताको पूजा आराधना गरी यो पर्व मनाइने भएकाले इनरुवामा भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रथारोहणसहित रथयात्रा निकालिने भएको  छ । रामजानकी गुठी संस्थाका उपाध्यक्ष पुण्य सिग्देलले गुठी र रामजानकी विवाह महोत्सव आयोजक समितिको अगुवाइमा इनरुवा ४ को रामजानकी मन्दिरबाट राम र सीतालाई विशेष सुसज्जित डोलामा राखी  बस चौक, जिल्ला प्रहरी कार्यालय, इनरुवा १ लोकतान्त्रिक चौक, जिल्ला समन्वय समिति, इनरुवा २ कुसुमगाछी सहित, शिक्षा विकास तथा समन्वय एकाइ हुँदै इनरुवा ९ बबिया हुँदै इनरुवा २ को  लक्ष्मीनारायण मन्दिरमा पुर्‍याउँदै रथयात्रा सकिने तयारी गरेको सिग्देलले जानकारी दिनुभयो ।

छलफलमा सरोकारवालाहरूले रथयात्रामा सहभागी हुने पुरुषहरूलाई धोती कुर्ता वा दौरा सुरुवाल, कुर्ता तथा महिलाहरूलाई सारी चोलोको पहिरनमा आउन अपिल गरिएको उहाँले जानकारी दिनुभयो ।

छलफलमा प्रदेश सभा सदस्य रामप्रसाद मेहताले सनातनीहरूको महान् पर्व भएकाले विवाह पञ्चमीमा मौलिक पहिरनमा उपस्थितिका लागि अपिल गर्नुभयो । छलफल कार्यक्रममा दयानन्द साह, मुन्ना साह, राजेन्द्रप्रसाद साह, हरिनारायण मेहता, जितन मेहता, सत्य यादवसहितले कार्यक्रमलाई भव्य बनाउनुपर्ने र सबैले आ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सहभागी महिलाहरूले विवाह पञ्चमी तथा रामसीता रथयात्रा पूर्व मङ्सिर २० गते कुमरन, मैटकोर, फूल लोडही, सांस्कृतिक कार्यक्रमहरू गर्नुपर्नेमा जोड दिएको सहभागी सोनी यादवले जानकारी दिनुभयो ।

विवाह पञ्चमी तथा रामसीता रथयात्रामा इनरुवा नगरपालिकाले नगर क्षेत्रमा सार्वजनिक बिदा दिने भएको छ । बिदाको व्यवस्था मिलाइदिन र समग्र इनरुवावासीको माग र आस्थालाई सम्मान गर्न आग्रह सहित गतवर्ष मागपत्र बुझाएपछि नगरप्रमुख केदार भण्डारीले हिन्दुहरूको आस्थाको पर्व र ऐतिहासिक रूपमा बर्सेनि निकालिँदै आएको डोला तथा रथयात्रालाई ध्यानमा राखेर मङ्सिर २१ गते बिदा दिनुहुने भएको हो ।

जिल्लाको सदरमुकाम इनरुवामा भगवान् श्री रामचन्द्रको ‘रामराज्य रथयात्रा’ नगर परिक्रमा गरिने भएकाले त्यसमा कक्षा १० माथिका उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई समेत सहभागी गराउने गुठीका अध्यक्ष हरिलाल मेहताले जानकारी दिनुभएको छ । सहभागीहरूले राम सीताको सम्बन्ध र अनुशासनले सधैँ रामसीताको आदर्श अपनाएर जीवन व्यतीत गर्नु–गराउनुपर्ने उद्देश्यका साथ रथयात्रा निकालिने जनाएको छ ।

Comments

सम्बन्धित खवर