•  १० मंसिर २०८१, सोमबार
  •  1:23:37 PM

नेपालमा अब सुनचाँदीकाे मुल्य घटदै जाने

- मंसिर १०, २०८१ मा प्रकाशित



इटहरी । सरकारले सुनको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशंकासहित भन्सार महसुल घटाइएको हो । नेपालमा भन्दा भारतमा सुनको मूल्य प्रतितोला २० हजार हाराहारी सस्तो पर्ने व्यवसायीहरुले बताएका छन् ।

सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने निर्णय गरेको हो । चाँदीको भन्सार महसुल दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारिएको छ । योसँगै बजारमा सुन र चाँदीको मूल्य घट्ने छ । यसअघि सरकारले गत जेठको बजेटमार्फत सुनको भन्सार महसुल दर १५ प्रतिशतबाट २० प्रतिशत पुर्‍याएको थियो ।

सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने मन्त्रिपरिषद्को निर्णय आज मात्र विभागमा आइपुगेको भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले जानकारी दिए । यससँगै नयाँ दर कार्यान्वयनमा आएको उनले जानकारी दिए । चाँदीमा १५ प्रतिशत भन्सार दर रहेकोमा १० प्रतिशतमा झारिएको छ । त्यतिबेला अर्थमन्त्री वर्षमान पुन थिए । नेपालभन्दा पछि बजेट सार्वजनिक भएसँगै भारतमा सुनको भन्सार महसुल घटाइएको थियो । जसले गर्दा नेपालमा भन्दा भारतमा सुनको मूल्य सस्तो हुनपुगेको थियो ।

केही दिनअघि सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बजारमा सुनलगायतका वस्तुको तस्करी भइरहेको र राजस्व कम उठिरहेको बताएका थिए । बजारमा सुनको तस्करी बढेको आशंकालाई सुनको आयातको घटिरहेको तथ्याङ्कले समेत पुष्टि गर्छ । चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन–कात्तिक) मा सुनको आयात १३२ किलो हाराहारीमा सीमित छ । गत वर्षको यही अवधिमा एक हजार किलो सुन आयात भएको थियो ।

Comments

सम्बन्धित खवर