•  ६ मंसिर २०८१, बिहीबार
  •  2:51:12 PM

झाक्री प्रकाश भुजेलले ५२ लाख दिने सहमती : पाँच दिनपछि उठाइँदै नगरकोटी दप्पतीको शव

- मंसिर ३, २०८१ मा प्रकाशित



इटहरी । झाँक्री प्रकाश भुजेलले हाँकेको गाडीको ठक्करले ज्यान गुमाएका दम्पतीको शव पाँच दिनपछि आज (सोमबार) उठाइने भएको छ । कात्तिक २८ गते काठमाडौंको इन्द्रायणीमा भुजेलको गाडीले ठक्कर दिंदा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए ।

पति नारायणलाई सोही दिन अस्पतालले मृत घोषणा गरेको थियो भने पत्नी सानुमायाको दुई दिनपछि निधन भएको थियो । शव व्यवस्थापन तथा काजकिरियाका निम्ति झाँक्री भुजेल र मृतकको परिवारबीच आर्थिक विषयमा विवाद हुँदा मृतकको परिवारले ग्राण्डी अस्पतालबाट शव उठाएको थिएन ।

आइतबार दुई पक्षबीच ५२ लाख रुपैयाँ क्षतिपूर्तिमा कुरा मिलेपछि आज (सोमबार) शव उठाउने सहमति भएको परिवार स्रोतले जनाएको छ । उनीहरुबीचको मध्यस्थता जिल्ला प्रहरी परिसर भद्रकालीले गरेको थियो । पहिला मृतक परिवारले प्रतिव्यक्ति ५० लाखका दरले एक करोड माग गरेको थियो । स्थानीय जनप्रतिनिधिहरूको मध्यस्थतापछि आइतबार ५२ लाखमा सहमति भएको प्रहरी स्रोतले जानकारी दिएको छ।

भुजेल अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा छन् । उनीविरुद्धको मुद्दा भने प्रहरी वृत्त बौद्धले चलाएको छ । उनलाई सवारी तथा यातायात ऐन २०४९ को सवारी ज्यानको महलमा मुद्दा चलाइने भएको प्रहरीले जनायो । ऐनको दफा १६१ को उपदफा ३ बमोजिम उनीविरुद्ध मुद्दा पेश गर्ने प्रहरीको तयारी छ। त्यसअनुसार उनले बढीमा एक वर्षको कैद पाउँछन् । तर, कानुनले २ वर्षसम्मको कैदमा धरौटीमा छुट्ने सुविधा दिएको छ ।

Comments

सम्बन्धित खवर