•  १६ कार्तिक २०८१, शुक्रबार
  •  9:21:06 AM

नेपाल–बंगलादेश उपाधि भिडन्त : टिकट काट्न बिहानैदेखि लामो लाम

- कार्तिक १४, २०८१ मा प्रकाशित



इटहरी । साफ महिला च्याम्पियनसिपको नेपाल–बंगलादेशबीच आज (बुधबार) हुने उपाधि भिडन्त हेर्न टिकट काट्नेको बिहानदेखि भिड लागेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री गरिरहेको छ।

एक जनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने गरी व्यवस्था मिलाइएको छ । अनलाइन टिकट खरिद बन्द गरेपछि बिहानैदेखि टिकट बिक्रीस्थलमा सर्वसाधारण लाइनमा बसेका छन् । यसअघि बुकिङ भइसकेका अनलाइन टिकटको पैसा फिर्ता गरिने एन्फाले जनाएको छ ।

यसअघि एन्फाले प्रतियोगिताका लागि टिकट बिक्री जिम्मा एक कम्पनीलाई दिएको थियो । तर, आइतबार साँझ भएको नेपाल र भारतबीचको सेमिफाइनलमा दशरथ रंगशालाको दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फा आफैले टिकट बेच्न लागेको हो । उक्त खेलमा १५ हजार दर्शक क्षमताको रंगशालामा १९ हजारलाई प्रवेश गराइएको थियो । २ हजारभन्दा बढीले टिकट लिएर पनि खेल हेर्न नपाएको एन्फाले जनाएको छ ।

टिकटको मूल्य पाँच सय र एक हजार रुपैयाँ तोकेको छ । नेपाल र बंगलादेशबीचको फाइनल खेल आज साँझ साढे ६ बजेदेखि सुरु हुने छ । तर दर्शकलाई साँझ ५ बजेभित्रै रंगशाला प्रवेश गरिसक्न एन्फाले आग्रह गरेको छ । फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत दशरथ रंगशाला जाने छन् । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कार समेत वितरण गर्ने छन् ।

Comments

सम्बन्धित खवर