•  १६ कार्तिक २०८१, शुक्रबार
  •  8:16:03 PM

विराटनगर पुगेर माधव नेपालले सम्झिए ‘कोके’, भने, ‘एमाले यतै बनाइएको हो’

- भाद्र २५, २०८० मा प्रकाशित



मोरङ । सत्तारुढ नेपाल (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा निरासा र आशा पैदा गर्नेहरू रहेको भन्दै आफू आशाको पक्षधर भएको बताएका छन् । समाजवादी मोर्चाले आज (सोमबार) विराटनगरमा आयोजना गरेको सन्देश सभा कार्यक्रममा बोल्दै नेपालले उज्यालो र अँध्यारो दुई पाटो भएको भन्दै समाजका विकृति हटाउन पर्ने बताए ।

‘हामी मिसन समाजवाद लिएर देश दौडाहामा निस्किएका हौँ, हामी जनतामा आशा जगाउन चाहन्छौँ’, उनले भने, ‘विकृति विसंगति हटाउने प्रयास हुनुपर्छ, गरिनु पर्छ ।’ आफू विराटनगरको महेन्द्र मोरङ क्याम्पस पढेर स्नातक गरेको स्मरण गर्दै एमाले विराटनगरमै स्थापना भएको र त्यसको लागि धेरै मेहनत गरेको सुनाए ।

‘मानिस कम हुने र रानी क्षेत्रमा मजदुरहरूसँग आन्दोलनबारे छलफल गर्ने गर्दथे’, उनले भने, ‘मैले महेन्द्र मोरङ पढेर स्नातक गरेको हुँ । यो ठाउँबाट राजनीतिक यात्रा सुरु गरेको हुँ ।’ विराटनगर आउँदा विद्यार्थी जीवनकै बेला जस्तो युवा महसुस भएको नेपालले बताए । अध्यक्ष माधवकुमार नेपालले सम्बोधनका क्रममा आफूले ०३२ सालमा सुरु गरेको ‘कोअर्डिनेसन केन्द्र’ को प्रसङ्ग उप्काएका हुन् ।

सम्बोधनको सुरुमा नै उनले आफू विराटनगर पुग्दा अहिले नौजवान भएको महसुस गरे । ‘विराटनगरमा नै हामीले ३२ सालमा कोके स्थापना गर्‍यौं। म बसेको डेरामा नै त्यसको सुरुवात भएको हो । म त्यतिबेला पढ्थेँ पनि, जागिर गर्थे पनि, राजनीतिमा पनि थिएँ,’ नेपालले भने, ‘त्यो पुरानो सम्झना ताजा भएर आयो । आफूलाई पुनः नौजवान मैले महसुस गरें । भर्खरको २२ वर्षको तन्नेरी भएँ ।’ नेपालले युवा विद्यार्थीलाई आशाको सन्देश दिनुपर्ने बताए । पाँच सन्देश सभा सम्पन्न हुँदा यसप्रति उत्साह बढेको आफूले पाएको नेपालले सुनाए । मिसन समाजवाद जारी रहने भन्दै उनले असमानता हटाउन लागिरहने स्पष्ट गरे ।

Comments

सम्बन्धित खवर