•  १६ कार्तिक २०८१, शुक्रबार
  •  12:07:25 AM

आजदेखि हलमा ‘लुङा’

- श्रावण ५, २०८० मा प्रकाशित



काठमाडौँ । लिम्बू संस्कृतिमा बनेको फिल्म ‘लुङा’ आजदेखि प्रदर्शनमा आएको छ । समसामयिक विषयवस्तुमा आधारित चलचित्रलाई निर्देशक किरण राईले निर्देशन गरेका हुन् ।

यो चलचित्रमा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भीम शेरमा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीप जंग कार्की, गङ्गाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्र सम्पूर्ण वर्गका दर्शकका लागि रहेको निर्देशक राईले जानकारी दिए । ’यसलाई हामीले प्रेम कथानक शैलीमा तयार गरेका छौँ’, निर्देशक राईले भने ।

भुवन सिंह राईले लेखेको कथालाई प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथाको स्वरूप दिएका हुन् । यसलाई काठमाण्डौमा जीजीए ग्रुप र रिच इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनीले वितरण गरेको छ । यस्तै, दोस्रो हप्तामा चलचित्र ‘बगान’ प्रदर्शन भइरहेको छ । पूर्ण पारिवारिक विधामा रहेर तयार गरिएको चलचित्रमा एकल आमाको कथालाई देखाइएको निर्देशक सरोज खनालले जानकारी दिए ।

अभिनेताका रुपमा तीन दशकभन्दा लामो समय बिताइसकेका खनाल यही चलचित्रमार्फत् निर्देशक बनेका हुन् । ‘एकल आमाले परिवारका सदस्य र समाजबाट के कस्तो अपेक्षा राख्दछन् भन्ने यसमा देखाएका छौँ, यसमा समस्यामात्र होइन समाधान पनि देखाउने कोसिस गरेका छौँ, त्यसैले स–परिवारले हेर्दा आफूलाई महसुस गर्नेछन्’, निर्देशक खनालले भने ।

चलचित्रमा निर्देशक खनालसँगै करिश्मा मानन्धर, नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन्। यसलाई गीतकार सुरेश वाग्लेले निर्माण गरेका हुन् ।

स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डीसीएनले काठमाण्डौ उपत्यका तथा मोफसलमा एफडी कम्पनीले गरेको छ । दोस्रो हप्तामा दर्शक बढ्ने विश्वास वितरक करण श्रेष्ठले व्यक्त गरेका छन् । उनले भने, ‘पहिलो हप्ता चलचित्र हेरेका दर्शकले दिएको प्रतिक्रियाले चलचित्र भवनमा भीड देखिनेमा विश्वस्त छौँ । यसको संख्या पहिलो हप्ताझैँ कायम छ ।

Comments

सम्बन्धित खवर