•  १६ कार्तिक २०८१, शुक्रबार
  •  10:08:54 PM

सुनकाण्डबारे बुझ्न दलबलसहित विमानस्थल भन्सार पुगे गृहमन्त्री श्रेष्ठ

- श्रावण ५, २०८० मा प्रकाशित



काठमाडौँ । हवाई मार्ग हुँदै बुधबार भित्रिएको १०० किलो सुन बरामद भएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार बिहान त्रिभुवन विमानस्थल पुगेका छन् ।

नेपाल प्रहरीका आईजीपी वसन्त कुँव र महानगरीय प्रहरी कार्यालय प्रमुख एआईजीपी श्यामलाल ज्ञवालीसहित गृहमन्त्री श्रेष्ठ विमानस्थल पुगेका हुन् । उनी दलबलसहित विमानस्थल भन्सार र अन्तर्राष्ट्रिय आगमन क्षेत्र पुगेर अनुगमन गरेका हुन् ।ठूलो टोलीसहित पुगेका गृहमन्त्री श्रेष्ठ भन्सार विभागका उपसचिव नारद गौतमले ब्रिफिङ गरेका छन् ।

उनले सामान जाँचपास हुने क्षेत्र र जाँचपासको विधिसहित विषयमा ब्रिफिङ गरेका हुन् । करिब एक अर्ब रुपैयाँको सुन बरामद भएपछि उपप्रम श्रेष्ठले बिहीबार भन्सार विभागका महानिर्देशक शोभकान्त पौडेलसँग सोधपुछ गरेका थिए । उनले विमानस्थल सुरक्षाको विषयलाई लिएर वर्तमान पूर्व प्रहरी अधिकारीहरुसँग पनि छलफल गरेका थिए । अर्थ र गृहमन्त्रालय मातहतको विमानस्थलबाट एक क्विन्टल अवैध सुन भित्रिएको विषयमा श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको आलोचना भइरहेको छ ।

करिब सय किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महत्त्वपूर्ण कार्यालयका प्रमुखहरू भने बिदामा रहेको भेटिएको थियो । विमानस्थल भन्सार कार्यालयका प्रमुख सहसचिव अरुण पोखरेल असार १७ गतेदेखि नै बिदामा रहेको भेटिएको थियो । भन्सार विभागका अनुसार उनले दुई महिना लामो बिदा लिएका थिए ।

Comments

सम्बन्धित खवर