•  १६ कार्तिक २०८१, शुक्रबार
  •  12:08:06 PM

इटहरी –धरान सिमा विवाद : जिल्ला समन्वय समितिले समिति गठन गरेर सामधानकाे पहल गर्ने

- असार २१, २०८० मा प्रकाशित



इटहरी ।  सुनसरीको धरान र इटहरी उपमहानगरपालिकाको सीमा विवाद मिलाउन जिल्ला समन्वय समितिले एक समिति गठन गर्ने भएको छ । जिल्ला समन्वय समितिका सभापति राजन मेहताले अन्तरिक रुपमा समस्या समाधानको गृहकार्य भइरहेको बताउँदै समिति गठन गर्ने जानकारी दिएका हुन् ।

साविक हाँसपोशा गाविस हुँदादेखिकै सीमा क्षेत्र अध्ययन भइरहेको जानकारी दिँदै मेहताले हाँसपोसा समायोजन हुँदा धरान र इटहरीमा के कति क्षेत्र गाभिएको हो भन्ने अध्ययन भइरहेको बताए । नापी र मालपोत कार्यालयसँग पनि यो बिषयमा आवश्यक समन्वय हुने उनको भनाइ छ ।
सभापति मेहताले समितिको बैठक बसेर जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा एक समिति गठन गर्ने बताए । यसको लागि धरान र इटहरीका मेयरसँग पनि कुराकानी भएको उनको भनाइ छ ।

धरानबाट सीमा विवाद मिलाउन पहिल्यै पत्राचार भएको जानकारी दिँदै अध्ययन भइरहँदा पुनः नयाँ विवाद सिर्जना भएको मेहताले बताए । राज्यले सीमा निर्धारण गरेकोले त्यसमा अध्ययनबाट स्पष्ट हुने उनको भनाइ छ ।

धरान उपमहानगरपालिकाले सोमबार इटहरीसँगको सीमा क्षेत्र पानीपियामा सीमा प्रारम्भ बोर्ड राखेको थियो । केही समयपछि इटहरीको टोलीले उक्त बोर्ड झिकेर फालेको थियो् । यसअघि गत बैशाखमा धरानले सोही स्थानमा राखेको बोर्ड राष्ट्रिय युवा संघ इटहरीले उखेलेर लगेको थियो ।
नापी विभागले जारी गरेको नक्सामा धरान र इटहरीको सीमा क्षेत्र पानीपिया उल्लेख छ । तर, इटहरीले उक्त सीमा क्षेत्रलाई स्वीकार गरेको छैन ।

Comments

सम्बन्धित खवर