•  ९ मंसिर २०८१, आईतवार
  •  12:11:03 PM

प्रधानमन्त्री प्रचण्ड भन्छन – गिरिजालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाएर गल्ती गरें

- असार १८, २०८० मा प्रकाशित



काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा आफूले प्रस्ताव नगरेर गल्ती गरेको बताएका छन् । आज (सोमबार) कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दै उनले कोइरालाई राष्ट्रपति नबनाएर आफूले गल्ती गरेको स्वीकारे ।

उनले कोइरालालाई शान्ति र संविधानको नायकको रुपमा भावविहोल भएर बिदाई गरेको समेत स्मरण गरेका छन् । पहिलो भेटदेखि अन्तिम भेटसम्म कोइरालामा कुनै द्विविधा, आशंका, अस्थिरता नदेखेको प्रचण्डले बताए ।

‘आज मैले भन्नुपर्छ, बरु मैले गल्ती गरेँ उहाँले गल्ती विल्कुल गर्नु भएन । मैले बरु उहाँसँग पहिलो भेटमा भनेका कुरा र लिएका प्रतिबद्धता सबै पूरा गर्न कतिपय सन्दर्भमा सकिन, तर मैले उहाँको विपरीत निर्णय गर्दा पनि मलाई विश्वास गर्न छाड्नु भएन । मलाई कुनै न कुनै रूपमा संरक्षण गर्ने, आफ्नो ऐतिहासिक दायित्वबाट बिल्कुल विचलित हुनुभएन । ‘गणतन्त्रको घोषणा गर्न ल्याइ पुर्‍याउन नेतृत्व गर्ने महानायकको छवि बन्यो गिरीजा कोइरालाको’, प्रचण्डले थपे, ‘गणतन्त्र घोषणा गरिसकेपछि म गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदै गर्दा मैले उहाँलाई पहिलो राष्ट्रपतिको प्रस्ताव गर्नुपथ्र्यो, मैले गर्न सकिन, मलाई पश्चताप छ ।’

प्रचण्डले आफूले विश्वास दिलाएपछि १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र आएको उल्लेख गरे। गिरिजाले शान्ति प्रक्रियामा आउनुपर्‍यो तपाईहरूको कुरा के छन् त्यसअनुसार सहमति गरौँ भनेको जानकारी गराउँदै प्रचण्डले भने, ‘हामी शान्तिमा आउँछौँ । तपाईले गणतन्त्र आइदिनुपर्‍यो भन्नुभयो उहाँले, पहिलो भेटमा गणतन्त्रमा आउँछु भन्नु भएन । तर, विश्वास दिलाउनु भएको थियो ।’

Comments

सम्बन्धित खवर