•  १७ कार्तिक २०८१, शनिबार
  •  3:05:13 AM

दाङ पुगेर प्रचण्डले भने, ‘समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौं’

- जेष्ठ ३१, २०८० मा प्रकाशित



दाङ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन् । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्ने गरी पहलकदमी भइरहेको जानकारी दिएका हुन् ।

‘समाजवादी क्रान्ति सीधा र सरल हुँदैन । यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ । विचार राजनीतिमा व्यापक छलफल, ठूलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ । त्यो हाम्रै पहल र हाम्रै नेतृत्व हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो । त्यो आत्मसमर्पण र विसर्जनको बाटो थिएन । समाजवादको आधार तयार पार्ने महान् उद्देश्यमा आधारित थियो। त्यसका लागि उक्त एकता गरिएको थियो ।’

‘हिजोको एकता कायम राख्न सम्भव भएन । तर, लाखौँ जनतालाई एकताबद्ध नगरी क्रान्ति हुँदैन,’ प्रचण्डले भने, ‘फेरि एकताका लागि पहल गर्नुपर्नेछ । समाजवादी मोर्चाको दस्ताबेज टुंग्याएका छौँ । हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ । तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ । एमालेमा पनि एकताका पक्षधरहरू छन् । उनीहरूको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउँछ। त्यहाँ मुख्य नेतृत्व नै मूल रूपमा एकताको बाधक देखिन्छ ।’

उनले फेरि नेकपा बनाउने कोशिस भइरहेको बताएका छन् । जनताको ठूलो हिस्सालाई संगठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न नसकिने बताउँदै यसलाई सबैले गम्भीर रूपमा सोच्न जरुरी रहेको र देशका सच्चा वामपन्थी र कम्युनिस्टहरूबीच एकताका लागि व्यापक बहस चलाउन आवश्यक रहेको उनको भनाइ थियाे ।

‘हाम्रो क्रान्ति मौलिक र जीवन्त छ । हामीले किताबमा लेखेजस्तो होइन, आफ्नै जीवनको अनुभवका आधारमा क्रान्ति गर्‍यौं । हाम्रो क्रान्ति विश्वमै मौलिक खालको छ,’ प्रधानमन्त्रीले भने, ‘लेनिनले क्रान्तिमा दुई कार्यनीतिको कुरा गर्नुभयाे। तर, उहाँले लेखे जस्तै दस्ताबेजमा भनिए जस्तो क्रान्ति भएन । मौलिक भयो । किताबमा लेखे जस्तो होइन, जीवनमा भोगे जस्तो क्रान्ति भयो । लेनिनले फेब्रुअरी क्रान्तिलाई पुँजीवादी क्रान्तिका रूपमा संश्लेषण गर्नुभयो ।’

‘हाम्रो पार्टीको आठौँ महाधिवेशनको दस्ताबेजले समाजवादी क्रान्तिको दिशानिर्देश गरिएको छ । त्यसमा समाजवादको नेपाली विशेषता र मौलिकतासहित क्रान्तिको आधार तयार पार्ने संश्लेषण गरिएको छ । भ्रष्टाचारलाई निर्मूल पारेर नै देश निर्माण गर्न सकिन्छ, पार्टी पुनर्निर्माण गर्न सकिन्छ । भ्रष्टाचार नियन्त्रण गर्ने सवालमा हामी कसैसँग सम्झौता गर्दैनौँ । नक्कली भुटानी शरणार्थी प्रकरणलाई तार्किक निष्कर्षमा पुर्‍याउँछौँ। भ्रष्टाचारका नयाँ फाइलहरू खोल्छौँ,’ उनले भने । प्रशिक्षणमा नेपाल सरकारका सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारले गरेका कामबाट कार्यकर्ता र जनतामा उत्साह छाएको बताएकी छन् । कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी, नेताहरू दामा शर्मा, जोखबहादुर महरालगायत उपस्थित थिए ।

Comments

सम्बन्धित खवर