•  १७ कार्तिक २०८१, शनिबार
  •  11:16:24 PM

नोबेल अस्पतालको शौचालयमा झुन्डिएको अवस्थामा भेटिए हाडनाता करणीका आरोपी 

- जेष्ठ १८, २०८० मा प्रकाशित



इटहरी । विराटनगरको नोबेल अस्पतालभित्र एक जना बलात्कार आरोपी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । १३ वर्षीय छोरीमाथि करणी गरेको आरोपमा पक्राउ परेका  पुरुष बुधबार मृत भेटिएका हुन् ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अस्पतालको बुधबार बिहान शौचालयभित्र झुन्डिएको अवस्थामा मोरङको मिक्लाजुङका ३३ वर्षीय पुरुष भेटिएका हुन् । 

उनी बुधबार बिहान ५ः२० बजेतिर शौचालय छिरेका थिए । शौचालयबाट ननिस्किएपछि हेर्दा शौचालयको ढोका भित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुन्डिएको अवस्थामा   भेटिएका थिए । मृतकले आफैले लगाएको हरियो कपडा (गाउन)को पासो लगाएको देखिएको प्रहरीले बताएको छ । हाडनाता करणीको आरोपमा प्रहरीले उनलाई जेठ १२ गते पक्राउ गरेको थियो ।  

अदालतबाट म्याद थप गर्नलाई जिल्ला सरकारी वकिल कार्यालय मोरङ ल्याएको समयमा  पनि उनले आत्महत्या प्रयास गरेका थिए । प्रहरीका  अनुसार जेठ १४ गते आइतबार दिउँसो २ बजेतिर घाँटी रेटेर आत्महत्याको प्रयास गरेपछि म्याद थप नगरी उपचारका लागि आफन्तको  जिम्मा लगाइएको थियो  ।

सरकारी वकिल कार्यालयको थुनुवा कक्षको शौचालयमा  फलामले घाँटी रेटेर आत्महत्या प्रयास गरेका उनलाई उपचारका लागि कोसी अस्पताल हुँदै नोबेल मेडिकल कलेज लगिएको थियो ।

Comments

सम्बन्धित खवर