•  १७ कार्तिक २०८१, शनिबार
  •  9:12:42 PM

आज बजेट घोषणा गर्दै सरकार : सबै भन्सार नाका बन्द

- जेष्ठ १५, २०८० मा प्रकाशित



१७ खर्ब हाराहारीको बजेट ल्याउने तयारी

काठमाडौं । सरकारले आज (सोमबार) मुलुक आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ । संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउन लागेको हो ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आज बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछन् । सरकारले आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्रै रहेर १७ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । बजेटसँग चारवटा विधेयक हुन्छन् । जसमा विनियोजन विधेयक, आर्थिक विधयेक, राष्ट्र ऋणसम्बन्धी विधयेक र ऋण तथा जमानत विधयेक छन् । यी विधयेकको सारांश र महत्वपूर्ण विषय समावेश गरी बजेट भाषण गरिन्छ । आज सार्वजनिक हुने बजेट कार्यान्वयन भने साउन १ गतेदेखि हुन्छ ।

आगामाी आर्थिक वर्षका लागि बजेट निर्माण भएको हो । तर आर्थिक विधेयकमा आएको भन्सारसँग सम्बन्धित करका दर भने यही १६ गतेदेखि लागू हुन्छ । करका दर हेरफेर हुने समय भएकाले आइतबार राति १२ बजेदेखि सबै भन्सार नाका बन्द गरिएका छन् । २४ घण्टाका लागि नाका बन्द गरिएको हो ।

जसअनुसार आज राति १२ बजेसम्म नाका बन्द रहन्छन् । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि अधिकतम १६ खर्ब ८८ अर्बको सीमाभित्र रहेर बजेट ल्याउन सरकारलाई सुझाव दिएको अवस्था छ । अहिलेको स्थितिमा सोही सीमाभित्र रहेरै बजेट ल्याउनु सान्दर्भिक र व्यावहारिक देखिएको बजेट निर्माण टोलीका एक सदस्यले जानकारी दिए ।

‘मूलभूत रूपमा आगामी आर्थिक वर्षको बजेट कस्तो ल्याउनुपर्छ र कुन पक्षलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ भन्ने विषयमा गम्भीर छलफल र तयारी भएको छ । अहिलेको स्थिति र व्यावहारिक पक्षलाई मनन गर्दै राष्ट्रिय योजना आयोगले दिएको सीमाभन्दा माथि गएर बजेट ल्याउन हुँदैन भन्ने नै छ । आगामी आर्थिक वर्षको बजेट १७ खर्ब हाराहारीकै आउँछ,’ स्रोतले भन्यो । बजेटले पुँजीगत (विकास खर्च) लाई विशेष प्राथमिकता राख्दै चालु खर्च कसरी कम गर्न सकिन्छ भनेर व्यापक खर्च कटौती तथा मितव्ययिता अपनाइएको स्रोतले बतायो ।

खर्चको स्रोत ऋणमा निर्भर
राजस्वको स्रोत खुम्चिएको अवस्थामा बजेट खर्च व्यवस्थापनका स्रोतको रूपमा वैदेशिक सहायता र ऋणलाई नै पहिलो प्राथमिकतामा राखेको जनाइएको छ । चालु आर्थिक वर्षको जेठ १४ गतेसम्म लक्षित राजस्वको ५५.८३ प्रतिशत मात्र उठ्न सकेको छ । राजस्वतर्फ १२ खर्ब ९५ अर्ब ३७ करोड ५८ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा आइतबारसम्म जम्मा ७ खर्ब १० अर्ब ७० करोड १६ लाख रुपैयाँ मात्र सङ्कलन हुन सकेको छ ।

यस्तै, गैर–राजस्वतर्फ १ खर्ब ७ अर्ब ७७ करोड १२ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा हालसम्म ७२ अर्ब ७० करोड १५ लाख रुपैयाँ मात्र उठ्न सकेको छ ।

खर्चको स्रोत बेहोर्ने अन्य स्रोतको रूपमा दातृ राष्ट्रहरूसँगको आर्थिक सहयोग (अनुदान) बाट ५५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ लिने लक्ष्य रहे पनि सरकारले हालसम्म जम्मा ४८ करोड २ लाख रुपैयाँ मात्र लिन सकेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

हालसम्म लक्षित राजस्वको ५५.८३ प्रतिशत अर्थात् ७ खर्ब १० अर्ब ७० करोड १६ लाख रुपैयाँ उठ्दै गर्दा यता बजेट खर्च १० खर्ब ९८ अर्ब २७ करोड २६ लाख रुपैयाँ अर्थात् कुल बजेटको ६१.२२ प्रतिशत भएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । यद्यपि, हालसम्म विनियोजित बजेटको ६१.२२ प्रतिशत मात्र खर्च गर्न सके पनि लक्षित राजस्व उठ्न नसक्दा सरकारले २ खर्ब ७३ अर्ब ६५ करोड ८३ लाख रुपैयाँ बराबरको घाटा व्यहोरेको छ ।

यसले गर्दा आगामी आर्थिक वर्षको बजेट व्यवस्थापनमा सरकारलाई निकै सकस परेको हो । तर, बजेटको स्रोत व्यवस्थापनका लागि बढी ऋणमा निर्भर हुन नहुने अर्थविद् डा.चन्द्रमणि अधिकारी बताउँछन् ।

‘अहिले सार्वजनिक ऋणको आकार वार्षिक बजेटको भन्दा पनि ठूलो भइसकेको छ । साढे २१ खर्ब हाराहारीको सार्वजनिक ऋण अब कसरी धान्न सकिन्छ ?’ अर्थविद् अधिकारीले भने, ‘वार्षिक बजेटको एक चौथाई बजेट सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमै छुट्याउनुपर्ने स्थिति बनेपछि यसले मुलुक बन्दैन । सरकार नियमित खर्च कटौती र पुँजीगत खर्चमा फोकस हुनुपर्छ ।

Comments

सम्बन्धित खवर