•  १६ कार्तिक २०८१, शुक्रबार
  •  2:18:19 PM

मोरङको बूढीगंगाबाट २१ थान टिभी चोरी गर्ने गिरोह पक्राउ

- बैशाख २९, २०८० मा प्रकाशित



मोरङ । मोरङको बूढीगंगा गाउँपालिकाबाट १ महिनाअघि एलईडी टिभी (टेलिभिजन) चोरी गर्ने गिरोहलाई प्रहरीले फेला पारेको छ ।गोदाम फुटाएर २१ थान टिभी चोरी गर्ने गिरोहका दुई जना बुधबार राति १० बजेतिर पक्राउ परेका छन् ।प्रहरीले नवीन डिस्ट्रिब्यूटर्सको झ्याल फुटाएर एक महिनाअघि टिभी चोरी गरेको घटनामा संलग्न बूढीगंगा–४ का २५ वर्षीय कोसन ऋषिदेव र १८ वर्षीय सन्दीपकुमार ऋषिदेवलाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गर्न मोरङ प्रहरीका प्रवक्ता डीएसपी (प्रहरी नायव उपरीक्षक) रन्जनकुमार दाहाल नेतृत्वको टोली बूढीगंगा पुगेको थियो । बूढीगंगा–४ बाटै ऋषिदेवद्ववय पक्राउ परेका हुन् ।

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले पक्राउ परेकाहरूले चोरी गरेको मध्ये १५ थान टिभी बरामद गरिएको जानकारी दिए । ‘गोदाम फुटाएर एकै रात २१ वटा टिभी चोरी गरिएको थियो । त्योमध्ये १५ वटा बरामद गरिएको छ,’ पोखरेलले भने, ‘अन्य ६ थान टिभी फेला परेको छैन । चोरीमा संलग्नले कहाँ राखेका छन् भनेर खोजी गर्ने काम भइरहेको छ ।’

चोरीमा संलग्न एक जना फरार छन् । फरार रहेकाको खोजी तीव्र पारेर विभिन्न कोणबाट घटनाको अनुसन्धान अघि बढाइएको उनको भनाइ छ । बूढीगंगा–४ मा रहेको नवीन डिस्ट्रिब्यूटर्सको झ्याल फुटाएर प्रतिगोटा ४५ हजार रूपैयाँ पर्ने टिभी २०७९ चैत २८ गते राति चोरी भएको थियो ।

चोरी गरिएको टिभीको अनुमानित बजार मूल्य साढे ९ लाख बराबर रहेको प्रहरीले जनाएको छ । एसपी पोखरेलका अनुसार चोरीमा संलग्नले मोरङ र सुनसरीका विभिन्न ठाउँमा पुर्याएर सस्तो मूल्यमा टिभी बिक्री गरेको पत्ता लागेको छ । विभिन्न व्यक्तिलाई बिक्री गरेको टिभी प्रहरीले मोरङको बूढीगंगा र सुनसरीको दुहवीबाट बरामद गरेको हो ।

‘एउटा टिभीलाई २० देखि २५ हजार रूपैयाँसम्ममा बेचेको खुलेको छ’, उनले भने, ‘बिक्री हुन बाँकी रहेका केही सेट टिभी भने गाडेको अवस्थामा खाल्डोभित्रबाट निकालियो ।’ गिरोहले सस्तोमा किन्ने ग्राहाक खोजी गर्दै चोरीको टिभी बेच्ने गरेको पोखरेलको भनाइ छ । उनीहरू बिक्री हुन बाँकी रहेका टिभी किन्ने ग्राहाकको खोजीमा थिए । पक्राउ परेकाविरुद्ध चोरी मुद्दा चलाउन प्रहरीले अदालतबाट बिहीबार म्याद लिएर अनुसन्धानको थप प्रक्रिया अघि बढाएको छ ।

Comments

सम्बन्धित खवर